हवाईजहाजमा तेल भर्दा चोरी

छिनोफानो   बुधबार १७, कार्तिक २०७८ ०९:०१

हवाईजहाजमा तेल भर्दा चोरी भएको उजुरी परेपछि नेपाल आयल निगमले छानबिनका लागि समिति गठन गरेको छ । जहाजमा भर्ने क्रममा हवाई डिपोका कर्मचारीहरूले तेल चोरी गरेको सम्बन्धमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न भनेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो । मन्त्रालयको पत्राचारपछि आयल निगमले छानबिन समिति गठन गरेको छ ।

हवाईजहाजमा तेल भर्दा दैनिक आठ सय लिटरसम्म तेल चोरी हुने गरेको र यसरी चोरेको तेल गैरकानुनी रूपमा डिजेलमा मिसाएर डिपोका कर्मचारीहरूले बेच्ने गरेको उजुरी अख्तियारमा परेको थियो । तेल चोरी सम्बन्धमा आवश्यक कारबाहीका लागि अख्तियारले गत असोजमा मन्त्रालयलाई पत्राचार गरेको थियो ।

अख्तियारको निर्देशनपछि मन्त्रालयले १० दिनअघि आवश्यक कारबाहीका लागि निगमलाई पत्राचार गरेको थियो । मन्त्रालयले गत ८ कात्तिकमा उजुरी सम्बन्धमा सत्यतथ्य व्यहोरा खुलाई सात दिनभित्र प्रमाण कागजात पेस गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि गत साता निगमले उजुरी सम्बन्धमा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । नकुलप्रसाद भण्डारीको संयोजकत्वमा भरत रेग्मी, जगदीशप्रसाद यादव र उपेन्द्र सुवेदी सदस्य रहेको चार सदस्यीय समिति गठन गरिएको छ ।

अख्तियार र मन्त्रालयको निर्देशन बमोजिम उजुरीमाथि छानबिनको काम सुरु भएको संयोजक भण्डारीले बताए । ‘अहिले डिपोका कर्मचारीलाई सोधपुछ गरिरहेका छौँ,’ उनले भने । छानबिनका लागि आफूहरूले १५ दिनको समय पाएको र त्यसभित्र सक्ने गरी काम अघि बढेको उनले बताए ।

दैनिक आठ सय लिटर चोरी
हवाईजहाजमा इन्धन भर्ने क्रममा प्रत्येकपटक पाइपलाइनमा रहेको इन्धन पुनः रिफ्युलरमा फर्काई तेल चोरी गर्ने गरिएको उजुरीमा उल्लेख छ । यसरी एकपटकमा कर्मचारीहरूले ४० देखि ६० लिटरसम्म इन्धन चोरी गर्ने गरेका उजुरीमा जनाइएको छ । चोरिएको इन्धन बिक्रेतासँग मिलेमतो गरी ड्रममा हाली डिजेलमा मिसाएर बिक्री गर्ने गरिएको आरोप लगाइएको छ । यस्तो कार्य वर्षौदेखि चलिरहेको उजुरीकर्ताको दाबी छ ।

‘यो विषयमा निगमका सबै उच्च अधिकारी जानकार छन्, तर विगतमा आफूले पनि यस्तो कार्य गरेकाले उनीहरू उक्त कार्यलाई रोक्न चाहँदैनन् । यसबाट प्राप्त केही हिस्सा उनीहरूका लागि छुट्याउने भएकाले चुपचाप राखिएको दाबी पनि उजुरीमा गरिएको छ ।

देशभरका हवाई इन्धन कार्यालयहरूमा सरदर दैनिक आठ सय लिटर इन्धन यसरी चोरिने गरेको उजुरीकर्ताको दाबी छ । हाल देशभर १० वटा हवाई इन्धन डिपो छन् । ‘चोरीको इन्धनबाट मनग्ये कमाइ हुने भएकाले कुनै बजेट तथा कार्यक्रमको अख्तियारी नहुँदा पनि हवाई इन्धन कार्यालयमा सरुवा हुन कर्मचारीहरूबीच अत्यधिक लेनदेन र भनसुनको प्रतिस्पर्धा हुने गरेको छ,’ उजुरीमा भनिएको छ ।

कसरी हुन्छ चोरी ?
हवाईजहाज तथा हेलिकोप्टरहरूले विमानस्थलहरूमा रहेका निगमका विभिन्न हवाई डिपोहरूबाट इन्धन भर्छन् । डिपोमा निगमका कर्मचारीहरूले जहाजमा तेल भर्छन् । निगमले तेल ट्यांकरबाट जहाजमा तेल भर्छन् । ५० मिटरको मोटो पाइपको माध्यमबाट ट्यांकरले जहाजमा तेल भर्छन् । यसरी जहाजमा तेल भर्नुअघि पाइपमा तेल टम्म भरिएको हुनुपर्छ । पाइप भरिँदा ५० लिटरभन्दा बढी अट्छ । यसलाई समेत गणना गरेर जहाजहरूले रकम तिर्छन् ।

तर, निगमका कर्मचारीले जहाजमा भर्नुअघि पाइपमा भएको तेल सबै तानेर चोरी गर्छन् र अतिरिक्त तेल पठाउँछन् । यही पाइपमा भरिएको तेल तानेर कर्मचारीले बेच्छन् । यो तेल विक्रेताहरूसँग मिलेर डिजेलमा मिसाएर बिक्री गरिन्छ । यसरी मिसावट गर्न नपाउने भए पनि मिलेमतोमा चोरीको तेल बेचिँदै आएको छ । यो मिसावटले गाडीको इन्जिन चाँडै खाइदिन्छ । हवाई इन्धन डिजेलमा मिसाउन मिल्छ । खासगरी ठूला जहाजहरूमा तेल भर्दा यस्तो चोरी गरिने गरिएको उजुरीमा उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु