भाषा नसमेटिंदा राना थारु समुदायद्वारा आपत्ति

छिनोफानो   आइतबार २७, भदौ २०७८ ०१:३९

भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै सो समुदायले आपत्ति जनाएको छ । 

नेपाल राना थारु महासंघ लगायत राना थारु समुदायसंग सम्बन्धित विभिन्न संघ संस्थाले आज धनगढीमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो । आयोगले कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रैथाने समुदायको पहिचान मेटाउन खोजेको राना थारु समुदायको आरोप छ ।

भाषा आयोगले प्रतिवेदन सच्याएर राना थारु भाषालाई पनि कामकाजी भाषाको रुपमा उल्लेख गर्नु पर्ने महासंघका अध्यक्ष कृपाराम रानाले बताए । आयोगले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारु भाषालाई सरकारी कार्यालयमा कामकाजी भाषाको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ । 

‘आयोगले डोटेली र थारु भाषालाई कामकाजी भाषा मान्यता दिएकोमा हाम्रो कुनै आपत्ति छैन’, अध्यक्ष रानाले भने । ‘तर, त्यो संगै राना थारु समुदायको भाषा पनि समेटिनु पर्दछ ।’ राना थारु समुदायको पहिचानलाई आयोगले मेटाउन खोजेको भन्दै राना थारु समुदायले आन्दोलन गर्ने निर्णय गरेको छ । आयोगको कदमविरुद्ध भोलि धनगढीमा प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु