प्रहरीले अदालतभित्रै पसेर न्यायाधीशलाई कुटपिट गरि कञ्चटमा पेस्तोल ताकेपछि

छिनोफानो   शुक्रबार ०३, मङि्सर २०७८ ०१:०४

काठमाडौं- भारत विहारस्थित मधुबनी जिल्लाको झन्झारपुर अनुमण्डल अदालतमा एक जना न्यायाधीशमाथि कुटपिट भएको छ।

दुई जना प्रहरीले न्यायाधीश अविनाश कुमारमाथि निर्घात कुटपिट गरेको र उनीमाथि पेस्तोलसमेत ताकिएको जनाइएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार घोघरडीहा प्रहरी चौकीका प्रमुख गोपाल कृष्णले आफ्ना एक सहयोगी प्रहरी अधिकारी एसआई अभिमन्यु कुमार शर्मासँग मिलेर अदालतभित्र प्रवेश गरेर न्यायाधीशमाथि कुटपिट गरेका थिए भने उनीमाथि पेस्तोल समेत ताकेका थिए।

न्यायाधीशमाथि आक्रमण हुन थालेपछि अनुमण्डल अदालतका अन्य सहयोगी र अधिवक्ता जुटेर आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए। रिसाएका वकिलहरुले उनीहरुमाथि कुटपिटसमेत गरेका थिए।

भारतीय अनलाइन जागरणका अनुसार घोघरडीहा प्रहरी चौकीको क्षेत्रमा पर्ने एक गाउँमा कुटपिटको घटना अदालतमा चलिरहेको थियो। पीडितपक्ष माथि फेरि कुटपिट भएपछि एक महिलाले आवेदन अनुमण्डल विधिक सेवा समितिका अध्यक्ष एवं न्यायधीश अविनाश कुमार समक्ष दिएकी थिइन्।

उनले उक्त निवेदनमाथि आदेश जारी गर्दै घोघरडीहा चौकीका प्रमुखलाई बुधबार अदालतमा उपिस्थित हुन भनेका थिए। तर प्रहरी अधिकारी बुधबारको सट्टा बिहीबार अदालत पुगे। एक सहयोगीसहित बिहीबार २ बजे उनी अदालत पुगे। त्यसपछि उनी न्यायाधीश भएको स्थानमा पुगेका थिए।

उनले आफू बुधबार उपस्थित हुन नसकेका कारण आज आएको बताए। न्यायधीशले अघिल्लै दिन बोलाएको भन्ने जवाफ दिएपछि प्रहरी अधिकारी एक्कासी उनीमाथि खनिएको र अश्लिल गाली गर्दै हातपात गरेको समाचारहरुमा जनाइएको छ।

पछिल्लो समय न्यायाधीश अविनाश कुमार भने एक फैसलाका कारण चर्चामा छन्। पटना हाईकोर्टको अपर जिल्ला एवं सत्र न्यायाधीश (एडीजे) अविनाश कुमारलाई न्यायीक काम गर्नका लागि रोकसमेत लगाइएको थियो। उनले एक कुकुरलाई पाल्न र पाँच कुकुरलाई एक महिनासम्म खान दिने सर्तमा एक हत्या आरोपिलाई जमानत दिएका थिए।

यस्तै कुटपिट घटना आरोपिलाई उनले कथित तल्लो जातिका गरिब पाँच बालबालिकालाई ६ महिनासम्म आधा लिटर दुध नि: शुल्क दिने शर्तमा जमानत दिएका थिए। त्यस्तै महिलामाथि जिस्काएको आरोपिलाई छ महिनासम्म आफ्नो गाउँका सबै महिलाको कपडा धुने र आइरन गर्ने शर्तमा उनले जमानत दिएका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु