काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा धेरैजसो टोलीले आफ्ना प्रदेशको पहिचान बोकेर मैदानमा उत्रिएका छन् । पूर्वको विराटनगर होस् वा पश्चिमको सुदूरपश्चिम, मधेशको जनकपुर होस् वा हिमाल–पहाडले भरिएका गण्डकीको पोखरा र कर्णाली—सबैले आफ्नो–आफ्नो प्रदेशको गौरवलाई खेलमार्फत अभिव्यक्त गरिरहेका छन् । भीड, र समर्थन पनि त्यहीअनुसार नै बाँडिएको देखिन्छ ।
तर बागमती प्रदेशको अवस्था भने अलि फरक छ । बाग्मतीमा दुई टोली छन्–काठमान्डु गाेर्खाज र चितवन राइनोज । काठमान्डु गाेर्खाजले सङ्घीय राजधानी काठमाण्डौ उपत्यकाको प्रतिनिधित्व गर्छ । काठमाण्डौमा जनसङ्ख्या पनि छ, क्रिकेटप्रेमीको सङ्ख्या पनि ठूलो छ र खेलकुदको मूल केन्द्र नै उपत्यका हो ।
तर चितवन राइनोजले भने एकै जिल्लालाई प्रतिनिधित्व गर्छ—चितवनलाई । यही कुराले नै देखाउँछ चितवनको क्रिकेटप्रतिको ‘अतुलनीय लगाव’ कस्तो छ भनेर ।
नेपाल प्रिमियर लिगका खेलहरूमा विशेषगरी त्रिवि क्रिकेट रङ्गशालामा चितवन राइनोजका समर्थकलाई हेर्दा कतिपय बेला अरू टाेलीको खेलमा देखिने हजारौं भीडको तुलनामा उनीहरूको उपस्थिति कम देखिन सक्छ । तर सङ्ख्याकै हिसाबले हेर्ने हो भने अरू टाेलीहरूले पूरै प्रदेशको प्रतिनिधित्व गर्छन्, त्यसैले एउटै जिल्लाबाट आएका समर्थकको उपस्थिति, त्यो पनि नियमित रूपमा रङ्गशालासम्म यात्रा गरेर आउने कुरा उल्लेखनीय छ ।
यसै कारणले चितवनका समर्थकहरूको उत्साह र समर्पण अतुलनीय छ । एउटै जिल्लाको टोलीका लागि देखिएको यस्तो एकीकृत र जोशिलो समर्थनले चितवनमा क्रिकेटप्रतिको मोह कति गहिरो छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।
जब–जब चितवनको खेल तय हुन्छ तब–तब चितवनबाट ६–७ वटा ठूला बसमा समर्थकहरू त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला आइपुग्छन् । खेल शुरू हुनुअघि नै दर्शकहरूले टिकट खरिद गरिसक्छन् र बसको सिटसमेत सुरक्षित गर्छन् ।
चितवन मेडिकल कलेजले हरेक खेलका लागि बसको प्रायोजन गर्छ जसअन्तर्गत दैनिक ६ वटा बस चितवनबाट काठमाण्डौतर्फ छुट्छन् । अघिल्लो सिजनमा पनि यो व्यवस्थाले चितवनका क्रिकेटप्रेमीलाई रङ्गशालासम्म सहजै ल्याएको थियो ।
यसबाहेक दर्जनौं समर्थकहरू व्यक्तिगत रूपमा पनि चितवनबाट काठमाण्डौसम्म यात्रा गरी आफ्नो टाेलीलाई हौसला दिन आइपुग्छन् । चितवनको यसै प्रकारको व्यापक र व्यवस्थित समर्थनले नेपाल प्रिमियर लिगमा स्थानीय पहिचान र खेलप्रतिको माया कत्तिको बलियो छ भन्ने प्रस्टै देखाउँछ ।
चितवनकाे रत्ननगरका जीवन दाहालका लागि क्रिकेट केवल खेल होइन—भावना हो । दाहालले आफू खेल्ने उमेरमा मैदानमै उभिने मौका पाउनुभएन, तर अहिले चितवनको पहिचान बोक्ने चितवन राइनोजलाई हौसला दिन भने चितवनदेखि काठमाण्डौसम्मको लामो यात्रा गर्न उहाँलाई कुनै ठूलो कुरा लाग्दैन । टाेलीप्रतिको प्रेम र आफ्नो भूमिसँगको नाताले नै उहाँलाई हरेक खेलमा रङ्गशालासम्म तान्छ ।
उहाँलाई विश्व क्रिकेटमा इङ्ग्ल्यान्डको टोली मन पर्छ । संयोगवश, चितवन राइनोजमा अहिले इङ्ग्ल्यान्डका स्टार खेलाडी रवि बोपारा र डेभिड मलान छन् । उनीहरूलाई आफ्नै शहरको नाममा बनेको टाेलीबाट खेलिरहेको प्रत्यक्ष हेर्न पाउनु दाहालका लागि छुट्टै रोमाञ्च हो ।
चितवनका यस्तै समर्थकहरूका लागि एनपीएल खेलप्रतिको निष्ठा, पहिचानको गर्व र आफ्ना मनपर्ने खेलाडीलाई नजिकबाट देख्ने सपनाको यात्रा पनि हो ।
अझै पनि नेपालका धेरै ग्रामीण ठाउँमा खेल–संस्कृति र पहुँच सीमित नै छ । तर चितवनमा भने अन्य कुराको विकाससँगै खेल–संस्कृति पनि एकैसाथ अघि बढिरहेको छ । प्रविधिको पहुँच बढ्यो, स्थानीय मैदानहरू व्यवस्थित हुँदै गए र सबैभन्दा ठूलो प्रभाव—सामाजिक सञ्जालले खेल्यो । अब मानिसहरूलाई खेल कहाँ हुँदैछ, कुन टोली खेल्दैछ, के भइरहेको छ—सबै कुरा आँखै अगाडि तुरुन्तै थाहा हुन्छ । जानकारी मात्र होइन, खोज्ने–हेर्ने–बुझ्ने संस्कार नै विकास भयो । त्यसपछि खेलमै उपस्थित भएर उत्साह बाँड्ने बानी बढ्यो । भरतपुरका कृष्णबहादुर क्षेत्रीलाई पनि यस्तै लाग्छ ।
यी सबै कारणले चितवनमा खेल–संस्कृतिको विकास गरायो र क्रिकेटप्रतिको चासो झनै बलियो हुँदै गयो । यसरी चितवनलाई हेर्दा—खेलप्रतिको सकारात्मक सोच, पहुँच र सहभागिता एकअर्कासँग जोडिएर कति प्रभावशाली संस्कृतिमा रूपान्तरण हुन सक्छ भन्ने उत्कृष्ट उदाहरण देखिन्छ ।
चितवनकाे रत्ननगरकी रेनुका ढकाल अहिले काठमाण्डौकाे चावहिल बस्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आफू जन्मेको र हुर्केको ठाउँ धेरैलाई मन पर्छ । आफ्नो भूगाेलकाे ठाउँको टाेलीकाे यत्तिकै पनि माया लाग्नु स्वाभाविक नै हो ।’
चितवनमा रङ्गशाला बनिरहेकाले क्रिकेटप्रतिकाे क्रेज अझ बढेको छ । आफ्नै ठाउँमा रङ्गशाला बनेपछि क्रिकेट हेर्न जान चाहनेहरूकाे चासो अझ बढेको छ ।
एनपीएलले प्रदेशहरूलाई जोड्दै लैजाने बाटो बनाएको छ भने चितवनले एउटा जिल्लास्तरमै कति गहिरो क्रिकेट–संस्कृति हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
चितवनकाे भरतपुरकी सुजु भट्टराई अहिले काठमाण्डौकाे कीर्तिपुरमा बस्दै अध्ययन गर्नुहुन्छ । उहाँका लागि क्रिकेट भावना, पहिचान र अभिव्यक्तिको माध्यम बनिसकेको छ । उहाँ चितवन राइनोजकी निष्ठावान् समर्थक हुन् । कक्षाबाट छुट्टीलगत्तै त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला पुगेर आफ्नो टाेलीलाई समर्थन गर्नु उहाँको दैनिकी झैँ भइसकेको छ ।
नेपालमा क्रिकेटको लोकप्रियता उकालो लाग्न भारतको प्रभाव नकार्न सकिँदैन । वर्षाैंदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्दै आएको नयाँ पुस्तालाई जब आफ्नै देशमा लिग शुरू भयो, त्यही ऊर्जा र रोमाञ्च नेपाली मैदानमा फैलिन थाल्यो । सुजु भन्नुहुन्छ, ‘आईपीएलले हामीलाई क्रिकेट हेर्ने बानी मात्रै बनाएन, खेलप्रतिको उत्साह नै बढाइदियो ।’
चितवनमा क्रिकेटको लगाव झन् गहिरिँदै गएको छ । विद्यालयदेखि स्थानीयस्तरका प्रतियोगितासम्म, क्रिकेट खेल्ने र हेर्ने संस्कृतिले मजबुत स्थान बनाइरहेको छ । यही रुचिको प्रतिफलका रूपमा चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । ३५ हजार दर्शक क्षमता रहेको यो रङ्गशाला बनेपछि नेपालकै सबैभन्दा ठूलो क्रिकेट भेन्यू हुने अपेक्षा छ ।
अहिले निर्माण रोकिएको भए पनि चितवनवासीको आशा भने रोकिएको छैन । उनीहरू विश्वास गर्छन्—रङ्गशाला पूरा भएपछि चितवन मात्र होइन, देशभर क्रिकेटको लोकप्रियता नयाँ उचाइमा पुग्नेछ । सुजु पनि भन्निहुन्छ, ‘यो रङ्गशाला निर्माण भयो भने चितवन अझै क्रिकेटको केन्द्र बन्न सक्छ ।’
स्थानीय खेलाडीहरू पनि उदाउँदैछन् । अन्य खेलको तुलनामा क्रिकेटमा समर्थन, रुचि र सम्भावना दुवै अत्यधिक देखिन्छ । पछिल्ला वर्षमा नेपाली क्रिकेटले गरेको विश्वस्तरीय प्रगतिले पनि दर्शकलाई झन् आकर्षित बनाइरहेको सुजुको अनुभूति छ ।
चितवनमा आयोजित मेयर कप जस्ता स्थानीय प्रतियोगिताले पनि प्रतिभा देखाउने र नयाँ खेलाडी जन्माउने अवसर बनाइदिएका छन् । चितवनको क्रिकेट यात्रा केवल खेलको आकर्षण मात्र होइन—यो पुस्ताको सपना, पहिचान र भविष्यसँग गाँसिएको एउटा भावनात्मक कथा हो ।
प्रतिकृया दिनुहोस