बाजुरा । बाजुराको दुर्गम गाउँका स्थानीय आफ्नो घरआँगनबाटै बस सेवा लिन पाउँदा निकै खुसी भएका छन् । बसको टिकट लिनकै लागि उनीहरू एक दिन पैदल हिँडेर सदरमुकाम मार्तडीमा आउने जाने गर्थे । अहिले यहाँका स्थानीय तहको पहल तथा समन्वयमा कोल्टीबाट बस चल्न सुरु भएसँगै घरआँगनमै बस चढ्ने गरेपछि उनीहरू खुसी भएका हुन् ।
“धनगढी, महेन्द्रनगर, काठमाडौँ जानु परेमा पहिला एक दिन पैदल हिँडेर मार्तडीबाट बसको टिकट लिने गथ्र्यौं । अहिले कोल्टीदेखि बस घरआँगनमै आउँछन् । अनि हामी पनि घरआँगनबाटै बससेवा लिन पाउँदा निकै खुसी भएका छौँ,” बुढीनन्दा नगरपालिका–७, सेरकाटियका दलबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले घरकै आँगनबाट बस चढ्न पाएका छौँ । यस्तै सुविधा बर्खामा पनि भए झनै राम्रो हुन्थ्यो । बर्खाको समय धेरै ठाउँमा बाटो अवरुद्ध हुन्छ । त्यतिबेला कोल्टी आउने बस मार्तडीमै रोकिने गर्छन् ।” कच्ची सडक भएकाले बर्खा थोरै पानी पर्नेबित्तिकै हिलाम्मे हुन्छ । कतै पहिरो लाग्छ । यो सडक चाँडै कालोपत्रे भए हुन्थ्यो । त्यसपछि हामीलाई हिउँद, बर्खामै घरआँगनदेखि बस चढ्न सहज हुने विकले बताउनुभयो । कोल्टीमा सडक पुगेको झन्डै २० वर्ष भयो । यहाँ छोटो दुरीका सवारीसाधन सञ्चालन हुने गरे पनि बस सञ्चालन भएका थिएनन् ।
हामीले २०८० सालमै यहाँका स्थानीयलाई सहज हुने गरी यातायात बस व्यवसायी र सडक विभागलाई समन्वय गरेपछि कोल्टीमा बस सञ्चालन गरेका हौँ । बर्खाको समय पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । त्यो सडकलाई सडक डिभिजन कार्यालय अछामसँग समन्वय गरी हाम्रो डोजरले सफाइ गरेपछि अहिले फेरि कोल्टीदेखि अत्तरिया, मेहन्द्रनगर, धनगढी, काठमाडौँलगायतका सहरमा बस निरन्तर चलिरहेको बुढीनन्दा नगरपालिकाका प्रमुख जनकबहादुर बोहोराले बताउनुभयो । मार्तडी–कोल्टी सडक कालोपत्रेको काम गर्न २०७८ सालको असारमै काम पूरा गर्ने गरी २०७६ असारमा ८५ करोड रुपियाँमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माणको जिम्मा लिएको थियो ।
कामको जिम्मा लिएका ती दुई ठेकेदारले समयमा काम गरेका छैनन् । अहिलेसम्म पनि यहाँका मार्तडी–कोल्टी सडक कालोपत्रेको काम अलपत्र छ । मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोड रुपियाँमा ठेक्का लिने ती दुई कम्पनीले २६ करोडभन्दा बढी पहिलो किस्ता भुक्तानी लिएका भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
प्रतिकृया दिनुहोस