दिउँसै एक सय उनन्चालिस रुख गायब

छिनोफानो   बुधबार १८, मङि्सर २०८२ १२:५९

कञ्चनपुर । कञ्चनपुरमा एकै पटक १३९ रुख काटेर गायब पारिएको छ । कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैध रूपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् । 

गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा ती रुख कटान गरेर गायब पारिएको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको हो । सामुदायिक वनबाट ११६ खयरका रुख, २२ सिसम र एक कन्जुगरेर १३९ रुख काटेर गायब गरिएको सबडिभिजन वन कार्यालय पिपरैयाले जनाएको छ । नजिकै रहेको वडा कार्यालय भवनअगाडिका झन्डै १० बिघामा रहेको जङ्गलबाट त्यति मात्रामा रुख काटेर गायब गरिए पनि जनप्रतिनिधिले समेत वास्ता नगरेको सो कार्यालयका प्रमुख मनिदत्त भट्टले आरोप लगाउनुभयो । रुख कटान गरिएपछि सामुदायिक वनलाई पत्राचार गरेर सोधपुछको काम भइरहेको उहाँले बताउनुभयो । यस विषयमा डिभिजन वन कार्यालय कञ्चनपुरमा प्रतिवेदन बुझाइएको उहाँले बताउनुभयो । यद्यपि रुख कटानमा संलग्न व्यक्तिको पहिचान भने भइनसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले बताउनुभयो । यहाँको कार्की टोलका ६०–७० जना स्थानीयको समूहले ती रुख काटेर दाउरामा प्रयोग गरेको खुल्नमा आएको डिभिजन वन कार्यालयका प्रमुख डिसीले बताउनुभयो । 

यहाँका स्थानीयले सो क्षेत्रमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज खोल्न आवश्यक रुख कटान गर्नुपर्ने भएपछि ती रुख काटेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसीले बताउनुभयो । कजेज भवन निर्माणका लागि यसअघि मङ्सिर १ गते कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानासँग कोरियाली संस्थाका प्रतिनिधिले गौरीघाट वनक्षेत्रमा स्थलगत अनुगमन गरेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसीले बताउनुभयो । यद्यपि सो कलेजका लागि भने पाँच बिघा जमिनसमेत अलग स्थानमा रहेको उहाँले बताउनुभयो । रुख कटान गरिएपछि डिभिजन वन कार्यालयका प्रमुख डिसीको नेतृत्वमा सोमबार सो क्षेत्रमा स्थलगत निरीक्षण गरिएको थियो । 

जनप्रतिनिधिलाई सोधपुछ

गौरीघाट सामुदायिक वनमा अवैध तरिकारले रुख काटेको विषयमा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा र वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानामाथि सोधपुछ भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । नगरप्रमुख ओझा र वडाध्यक्ष रानामाथि सोमबारदेखि नियमित रूपमा सोधपुछ भइरहेको डिभिजन वन कार्यालयका प्रमुख डिसीले बताउनुभयो । उहाँहरूले सो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएको प्रमुख डिसीले बताउनुभयो । वडाध्यक्ष रानाले भने ती रुख कटानको विषयमा आफूलाई पूर्वजानकारी नगराइएको दाबी गर्नुभयो । सो क्षेत्रमा निर्माण गरिने कलेजको अन्य कामका लागि अझै छ/सात बिघा जमिन अपुग देखिँदा ती रुखहरू काटिएको हुन सक्ने उहाँले बताउनुभयो । 

छानबिनमा खटिए अनुसन्धान अधिकृत 

गौरीघाट सामुदायिक वनमा अवैध तरिकाले काटिएको रुखबारेमा अनुसन्धान गर्न सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साहलाई खटाइएको छ । डिभिजन वन कार्यालयले मङ्गलबार साहलाई अनुसन्धानका लागि खटाइएको जनाइएको छ । प्रमुख साहले सो सामुदायिक वनबाट अवैध रूपमा रुख कटान गरिएको विषयमा आफूलाई पूर्वजानकारी नभएको र अनुसन्धानपछि मात्र केही बताउन सकिने बताउनुभयो ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु