पवन भण्डारी,धनगढी । प्रदेश सरकारबाट योजना हाली दिने भन्दै करिब ८ लाख रुपैयाँ खाएर पूर्व प्रदेश सभा सांसदका श्रीमान् फरार भएका छन । तुर्माखाद गाउँपालिका–५ निवासी तथा पूर्व सांसद कुन्ती जोशीका श्रीमान् समेत रहेका धरणीधर जोशीले प्रदेशबाट विकास योजना पास गराइदिने भन्दै पैसा खाएर फरार भएका हुन । अछामको ढकारी गाउँपालिका निवासी उमेश थापाबाट जोशीले २०७६ साल देखि पटक पटक गरि रु ७ लाख ८२ हजार लिएको प्राप्त प्रमाणमा देखाउँछ । आफूलाई प्रदेश सरकार बाट योजना पास गराई दिन्छु भन्दै विभिन्न बहानामा पैसा मागेको तर पछि योजना समेत नहालेको पीडित उमेश थापाले बताए ।
उनले भने “मैले सुरुमा २०७६ सालमा उनलाई पैसा दिएको भए पनि हाल सम्म न त कुनै योजना दिए न त मेरो पैसा नै फिर्ता भयो । जोशीले आफूलाई योजना हाल्न अब नसकिने भन्दै चेक दिएको भए पनि चेकमा पैसा नै नहुने बताए । थापाले भने “ २०८२ साल असार २७ गते जोशीले दिएको रु २ लाख ५ हजारको चेक बैङ्कमा पेस गर्दा खातामा पर्याप्त रकम नभएको भन्दै चेक बाउन्स भएको पुष्टि भएको थियो ।
उक्त घटनापछि आफूले नेपाल प्रहरीमा औपचारिक जाहेरी दर्ता गराइसकेको बताए । प्रहरीको सम्पर्क र बुझाइका क्रममा समेत जोशीले “आज दिन्छु, भोलि दिन्छु” भन्दै आश्वासन मात्र दिएको तर व्यवहारमा रकम फिर्ता नगरी हाल सम्पर्कविहीन बनेको पीडित थापाको दुखेसो रहेको छ ।
प्रदेशको योजना हालिदिने जस्तो राज्य संयन्त्रको नाम जोडेर सर्वसाधारणलाई ठगिएको आशङ्का गहिरिँदै गएपछि आफू बाध्य भएर यो विषय सार्वजनिक गर्नुपरेको पीडित थापाको भनाइ छ । हाल आफ्नो आमा क्यान्सर जस्तो रोगले ग्रसित हुँदा समेत जोशीले आफ्नो पैसा रिटन नगरेको बताए । जोशी असार यता सम्पर्कमा नरहेको भए पनि केही समय अगाडि उनको श्रीमती पूर्व प्रदेश सभा सदस्य कुन्ती जोशीले आफूलाई भेटेर पैसा फिर्ता गर्ने आश्वासन दिए पनि हाल दुवै जना सम्पर्कमा नरहेको उनले गुनासो गरे ।
जोशीले २०८२ असोज ६ गते ४ लाख को चेक र कार्तिक ७ गतेको मितिमा १ लाख ७१ हजारको चेक थापालाई दिए पनि खातामा पैसा नभएको पीडितको गुनासो रहेको छ । फरार जोशी तत्कालीन नेकपा माओवादी केन्द्र तुर्माखाद गाउँ कमिटी अध्यक्ष हुन । यो बिषयमा जोशीलाई पटक पटक सम्पर्क गर्दा उनको मोबाइल अफ रहको देखिन्छ ।
प्रतिकृया दिनुहोस