काठमाण्डौ – सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ ।
यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर) मा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक पठाउने गरेकोमा अब केयरगिभरको होम टु होम काम गर्ने र कृषिक्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी स्वीकृति भएको हो । अस्ति सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले इजरायल सरकार र नेपाल सरकारबीच तीन क्षेत्रमा श्रमिक पठाउने गरी श्रम सम्झौता (जिटुजी) गर्ने गरी स्वीकृत गरेको छ ।
इजरायल सरकारले यी क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा यसअगाडि नै निर्णय गरिसकेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता पिताम्बर घिमिरेले इजरायलमा यी क्षेत्रमा नेपाली श्रमिक पठाउने विषयमा नयाँ सम्झौताका लागि धेरै चरणमा कुरा भई त्यहाँको इजरायल सरकारबाट निर्णय भइसकेपछि मात्रै स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाएको जानकारी दिनुभयो । इजरायलसँग नयाँ हुने सम्झौतामा नेपाली श्रमिकका लागि दुई कार्यक्षेत्र थपिए पनि सम्झौताको प्रकृति यसअघिकै निरन्तरता भएको पनि उहाँले जानकारी दिनुभयो ।
यसैबीच सरकारले ओमानसँग श्रम समझदारी (बीटुबी) मा स्वीकृति प्रदान गरेको छ । पछिल्लो मन्त्रीपरिषद्को बैठकले ओमानसँग श्रम समझदारी गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको हो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्र (बीटुबी) मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको थियो ।
ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रको प्रक्रिया अगाडि बढेको जानकारी यसअघि प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस