नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लाका न्याय विभाग प्रमुख रमन सीले विक परिवारलाई जानकारी नदिएर बैँकले लिलाम गरेको भन्दै घर कब्जामा लिएको बताउनु भयो ।
उहाँले पीडित विक परिवारलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै न्यायोचित ढङ्गले छानबिन नभएसम्म घर कब्जामा रहने बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ललितजङ्ग सीले अजय विकको घर जग्गा दलालसँग मिलेमतो गरी बैँकले लिलाम गरी परिवारलाई बिचल्लीमा पारेको कारण घर कब्जामा लिएको बताउनु भयो ।
अहिले उक्त घर पूर्णरूपमा पार्टीको कब्जामा रहेकाले कसैले प्रयोग गर्न नपाउने उहाँको भनाइ छ । एनएमबी बैँकले विकले २०७५ मा लिएको ऋणको सावा ब्याज तिर्न आनाकानी गरेको भन्दै दुई वर्षअघि २०८० चैतमा विकले बैँकमा राखेको दुई करोड मूल्य बराबरको घर लिलाम गरेको थियो ।
एनएमबी बैँकले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको धितो लिलाममा जालसाजी र किर्ते गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालयमा तीन जनाविरुद्ध जाहेरी परेको छ । लिलामी घर किन्ने धिरेन्द्र साउँद र उहाँकी श्रीमती तुलसीकुमारी डाँगा र बाटो सिफासित दिने वडा १० का वडासचिव जुनाकुमारी शेरा विरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
१५ वर्षको कर्जा भुक्तानी अवधी राखी विकले होमलोन शीर्षकमा २९ लाख ५० हजार ऋण लिएका थिए । बैँकले लिलामीका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी न गरिदिन भन्दै ३ लाख नगद र एक लाखको चेक बोकेर एनएमबी बैँकमा जादाँ पनि पैसा नबुझेको उहाँको आरोप छ ।
बैँकको झलारीस्थित शाखाका कर्मचारीले भने सबै कागजात केन्द्रिय कार्यालयमा पठाएकाले आफूहरूलाई केही जानकारी नभएको बताउँदै आएका छन् । एनएमबी बैँक कञ्चनपुरको झलारी बजारमा रहेको शाखामा जेनजी युवा सङ्घर्ष समितिले तालाबन्दी गरेका छन् ।
प्रतिकृया दिनुहोस