नगरस्तरीय थारू माघ महोत्सव आयोजना हुने

छिनोफानो   आइतबार २७, पुष २०८२ ०४:२५

धनगढी  । कैलालीको गोदावरी नगरपालिका –८ स्थित मजगाउँमा गोदावरी नगरस्तरीय माघ महोत्सव आयोजना हुने भएको छ । 

थारू समुदायको नयाँ वर्ष एवम् सबैभन्दा ठुलो पर्व माघको अवसरमा माघ १२ देखि १४ गतेसम्म मजगाउँ थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो । 

थारू कला, संस्कृति, भेषभूषा, स्थानीय खानाका परिकार, कृषि लगायतको संरक्षण एवम् प्रवर्धन गर्ने उद्देश्यले माघ महोत्सव आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यू खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा हुने महोत्सवमा स्थानीय साँस्कृतिक झाँकीका साथै थारू कलाकारहरुको प्रस्तुति, गोदावरी नगरपालिकाकोे स्थायी बसोबासी थारू समुदायका राष्ट्रसेवक कर्मचारीलाई सम्मान लगायतका कार्यक्रम हुने जनाइएको छ । 

आफूहरुले विगत १६ वर्षदेखि माघ महोत्सव आयोजना गर्दैआएको जनाउँदै महोत्सव आयोजक मूल समितिका संयोजक जनकलाल चौधरीले यसबाट लोकसंस्कृति संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीयमा जनचेतनाको विकास पनि भएको बताउनुभयो । 

त्यस्तै, थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद माधव थारूले विगतदेखि आयोजना हुँदैआएको माघ महोत्सवले गोदावरी नगर क्षेत्रमा साँस्कृतिक जागरण ल्याउन मद्दत गरेको बताउनुभयो । नगर क्षेत्रमा रहेका प्रत्येक थारू गाउँमा अचेल सखिया, मघौटा लगायतका नाच हुने गरेको उहाँको भनाइ छ । 

यसैगरी, कार्यबाहक वडा अध्यक्ष हरिराम चौधरीले माघ महोत्सवले एकता, एकरुपताको साथै चेतनाको विकासमा सहयोग गरेको उल्लेख गर्नुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु