दार्चुला। कञ्चनपुरको ब्रम्हदेवदेखी दार्चुलाको तिङ्कर नाकालाई जोड्ने सडकका रूपमा रहेको महाकाली कोरिडोर अन्तर्गत विभिन्न नदी र खोलामा निर्माण हुने चालिस मोटरेबल पुलमध्ये चालु आर्थिक वर्ष २०८२/८३ मा दुई वटा पुल मात्रै निर्माण हुने भएका छन् ।
महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका योजना प्रमुख ईश्वर कार्कीले सो जानकारी दिनुभयो । जम्मा ३३४ किलोमिटर लम्बाइ रहेको कोरिडोरको विभिन्न स्थानमा चालिस वटा मोटरेबल पुल निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला गरी चार वटा जिल्लालाई छोएको कोरिडोर अन्तर्गत दार्चुला जिल्लाको लास्कुघाट र निजाङ खोलामा यस वर्ष मोटरेबल पुल निर्माण गरिने उहाँले बताउनुभयो ।
कोरिडोरका चालिस मोटरेबल पुल निर्माणका लागि यस वर्ष राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेस गरेकोमा दुई वटा पुलका लागि मात्रै बजेट सुनिश्चित भएको तथा बाँकी ३८ पुलका लागि स्रोतको सुनिश्चित नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै मोटरेबल पुललाई रातो किताबमा पार्ने भनेर प्रस्ताव पेस गरेका हौँ । दुई वटा पुल निर्माणका लागि मात्रै बजेट स्वीकृत भएर आयो ।” बाँकी पुलको फाइल राष्ट्रिय योजना आयोगमै पेन्डिङमा छ, योजना प्रमुख कार्कीले थप्नुभयो । बाँकी रहेका ३८ मोटरेबल पुल रातो किताबमा परेर बहुवर्षीय स्रोतको सुनिश्चित भएपछि मात्रै ठेक्का लगाउन मिल्ने उहाँले बताउनुभयो । दार्चुलाको लास्कुघाट पुल निर्माण यस वर्षका लागि दुई करोड तथा निजाङ मोटरेबल पुल निर्माणका लागि पाँच लाख रुपियाँ बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । २०७९ साल भदौ २४ गते लास्कुखोलामा आएको बाढीले निर्माण भएर भुक्तानी हुन बाँकी मोटरेबल पुल बगाएको थियो, भने २०७८ भदौ १३ गते निजाङखोलामा आएको बाढीले निजाङखोलाको पुल बगाएको थियो । ती दुई स्थानमा मोटरेबल पुल निर्माणका लागि प्रव्रिmया थालिएको उहाँले बताउनुभयो ।
योजना प्रमुख कार्कीका अनुसार बाढीका कारण क्षति भएका पुलको निर्माणका लागि विशेषज्ञबाट स्थलगत अध्ययन गराउने कार्य भइरहेको छ । बाढीले मोटरेबल पुल निर्माण भइसकेपछि दुवै पुलको माथिको भाग (सुपर स्ट्रक्चर) बगाएको थियो । सडक विभागको पुल महाशाखाबाट अध्ययन भइरहेको तथा एक महिना भित्रै प्रतिवेदन प्राप्त भएपछि पुल निर्माणको बाँकी प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।
बाढीले पुल बगाएपछि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने व्यास र दुहुँ गाउँपालिकासम्म चल्ने सवारीसाधन खोलाको जोखिम बाटो भएर आवतजावत गर्न बाध्य छन् । आव २०६५/६६ देखि सञ्चानलमा रहेको सडक योजनाले गएको १६ वर्षमा २८४.५ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ, कोरिडोर अन्तर्गत ४९.५ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस