बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माणको काम तीव्र पारिएको छ । मार्तडी–कोल्टी सडक खण्ड कोल्टीसम्म पुगेको करिब २० वर्षपछि दानसाँगु खोलामा बल्ल बेलिब्रिज पुल निर्माण हुन थालेको हो । लामो समय पुल नहुँदा वर्षायाममा कोल्टीतर्फ चल्ने सवारी साधनलाई आउजाउमा समस्या हुँदै आएको थियो ।
हाल दानसाँगु खोलामा पुल निर्माणको काम तीव्र रूपमा भइरहेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । पुल निर्माण सुरु भएसँगै स्थानीयवासीमा खुसी छाएको छ । पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अब हट्ने आशा स्थानीयले व्यक्त गरेका छन् ।
हिउँदको समयमा पनि दानसाँगु खोलामा पुल नहुँदा मार्तडीबाट कोल्टी जाने सवारी साधन रोकिँदै आएको सवारी चालक रामबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार मार्तडी–कोल्टी सडकमा सबैभन्दा बढी समस्या बाउली र दानसाँगु खोलामा देखिँदै आएको छ । बाउली खोलामा पुल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन ।
बाउली र दानसाँगु खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न भए वर्षायाममा पनि मार्तडी–कोल्टी सडक नियमित रूपमा सञ्चालन गर्न सकिने कार्कीको भनाइ छ ।
यसअघि जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्ने प्रयास भए पनि विवादका कारण सम्भव हुन सकेको थिएन । विवाद समाधान भएपछि उक्त बेलिब्रिज दानसाँगु खोलामा ल्याएर निर्माण कार्य अघि बढाइएको बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगु खोलामा राख्न डिडिएरजनकल्याण जेभीसँग २ करोड २० लाख रुपैयाँमा सम्झौता गरिएको हो । मंसिरको पहिलो सातामा पुलको औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।
सम्झौताअनुसार तीन महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल काम तीव्र गतिमा भइरहेको र अबको एक महिनाभित्र बेलिब्रिज निर्माण सम्पन्न गरी सवारी साधन सञ्चालनमा ल्याइने उपप्रमुख बोहराले बताउनुभयो ।
दानसाँगु खोलामा स्थायी पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ । त्यतिन्जेल वर्षायाममा सवारी आवागमन सहज बनाउन बडिमालिका नगरपालिकाको जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गरिएको हो । ठेकेदार कम्पनीले दुई महिनाअघि काम सुरु गरेको र आगामी एक महिनाभित्र निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस