जिल्लाको सिफारिस विपरीत टिकट दिएको भन्दै बझाङ एमालेमा असन्तुष्टि

छिनोफानो   आइतबार ०५, माघ २०८२ ०१:०८

बझाङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्ला कमिटीको सिफारिस विपरीत उम्मेदवार चयन गरिएको भन्दै बझाङमा असन्तुष्टि पैदा भएको छ। जिल्लाका पदाधिकारीहरूले केन्द्रले जिल्ला कमिटीको निर्णयलाई बेवास्ता गर्दै टिकट वितरण गरेको आरोप लगाएका छन् । शनिबार सार्वजनिक गरिएको टिकट बाँडफाँडमा जिल्ला कमिटीले सिफारिस गरेका तीन जनालाई पन्छाउँदै सिफारिसमै नपरेका केन्द्रीय सदस्य अफिलाल ओखेडालाई उम्मेदवार बनाइएको छ । जिल्ला कमिटीले केन्द्रीय कमिटी सदस्य तथा बझाङ इन्चार्ज ऐन महर, पूर्व जिल्ला उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य मोहनराज जोशी र प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्रीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको थियो ।

तर केन्द्रको निर्णयले जिल्लाको सिफारिस बेवास्ता गरेको भन्दै जिल्ला तहका नेताहरू असन्तुष्ट बनेका छन् । ‘पार्टीको विधि र प्रक्रिया मिचेर टिकट वितरण गरिनु दुर्भाग्यपूर्ण हो, जिल्ला कमिटीको निर्णयलाई सम्मान नगर्ने हो भने पार्टीभित्र गम्भीर समस्या उत्पन्न हुन्छ,’ जिल्ला कमिटीका एक पदाधिकारीले भने । अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपासहितको गठबन्धनविरुद्ध निर्वाचन लडेका महर ९ सय ९८ मत अन्तरले पराजित भएका थिए । यो परिणाम सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मत अन्तरको हार हो ।

तत्कालीन नेकपा (एस) का भानुभक्त जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दा महरले २७ हजार १ सय ४५ मत पाएका थिए । सोही निर्वाचनमा प्रदेश सभामा पराजित भएका ओखेडालाई यस पटक पार्टीले उम्मेदवार बनाएको हो । बझाङको प्रदेशसभा ९क० निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंह विजयी हुँदा ओखेडा पराजित भएका थिए । सिंहले ओखेडालाई ३ हजार ६ सय ७९ मतले पराजित गरेका थिए ।

सिंहको दुर्घटनामा निधन भएपछि सोही प्रदेशसभामा भएको उपनिर्वाचनमा भने एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका थिए । भण्डारीले ११ हजार ६ सय १३ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए । केही दिन पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी मुख्यालयमा बझाङ एक मात्र निर्वाचन क्षेत्र रहेको र जित्ने सूचीमा राखेर प्रदेशका पार्टी नेताहरूले रिपोर्टिङ गरेका थिए । जिल्लाले पनि प्रदेशमा बझाङमा सबैभन्दा बलियो उम्मेदवारका रूपमा महर नै रहेको सुझाव दिएको थियो । अहिले टिकट वितरणमा विभेद भएको उनीहरूको गुनासो छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु