काठमाण्डाै – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतमा खेल्न नचाहने बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को अडानलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्र लेखेको छ । पीसीबीले आईसीसी बोर्डका सबै सदस्यहरूलाई पनि पत्र पठाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
भारतसँगको बिग्रँदो राजनीतिक सम्बन्धका कारण सुरक्षा कारण देखाउँदै बङ्गलादेशले आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न नआउने बताउँदै आएको छ ।
आईसीसीले आज आफ्नो बोर्ड सदस्यहरूको बैठक बोलाएको छ । यस बैठकमा बङ्गलादेशका खेलहरू भारतबाट श्रीलङ्कामा सार्ने बीसीबीको मागमाथि छलफल हुने खबरमा उल्लेख छ ।
आईसीसी विश्वकपको तालिका परिवर्तन नगर्ने र बङ्गलादेशका खेलहरू सह–आयोजक राष्ट्र श्रीलङ्कामा सार्न नदिने आफ्नो अडानमा अडिग छ । यो समस्या समाधान गर्न आईसीसी र बीसीबीले धेरै चरणको वार्ता गरेका छन् ।
गएको हप्ता ढाकामा भएको बैठकमा पनि दुवै पक्ष आफ्नो अडानमा अडिग थिए । आईसीसीले प्रतियोगिता निर्धारित तालिकाअनुसार नै हुने बताउँदै आए पनि बीसीबीले सुरक्षाको कारण देखाउँदै टोलीलाई भारत पठाउन तयार भएको छैन ।
विश्वकप शुरू हुन तीन हप्ताभन्दा कम समय बाँकी रहँदा आज बङ्गलादेशको सहभागिताबारे अन्तिम समयसीमा तोकिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बङ्गलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद बढेको हो ।
१०औँ संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने तालिका छ । तालिकाअनुसार समूह चरणमा बङ्गलादेशको पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुनेछ ।
प्रतिकृया दिनुहोस