काठमाण्डौ – रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
लोकमार्ग अवरुद्ध भएपछि खुलाउन इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो ।
अहिले पनि त्यस क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । हिउँ पन्छाउन र बाटो खुलाउन भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । रुकुम पूर्वसहित पश्चिम क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ । कतै कतै हल्का वर्षा पनि भएको छ ।
लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानलाई राहत भएको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस