कञ्चनपुर । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरबाट सङ्घ र प्रदेशका गरी चार पूर्वमन्त्री चुनावी मैदानमा छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट चार पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका हुन् ।
निर्वाचन क्षेत्र नं.१ मा नेपाली कम्युनिस्ट पार्टीबाट सङ्घीय सरकारका पूर्वखानेपानीमन्त्री बिना मगर र नेकपा (एमाले) बाट सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार ४३७ को फराकिलो मतान्तरले पराजित गर्दै मगर विजयी हुनुभएको थियो ।
निर्वाचित भएपछि मगर सङ्घीय सरकारको खानेपानीमन्त्रीसमेत बन्नुभयो । क्षेत्र नं. १ का मतदाताले भने निर्वाचनपूर्व गरिएका वाचा पूरा नगरेको गुनासो गरेका छन् । बेलौरी नगरपालिका–९, कानपुरका कविता जोशीले सडक, पूर्वाधार, खानेपानीका आयोजना अलपत्र परेका बताउनुभयो । यसै गरी २०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत मन्त्रीद्वय मगर र तामाङबिच प्रतिस्पर्धा भएको थियो । २०७९ सालमा वाम गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा (माओवादी केन्द्र) की नेतृ मगरलाई पाँच हजार ५४६ मतान्तरले पराजित गर्दै एमालेका तामाङ विजयी हुनुभएको थियो । नेता तामाङ यो निर्वाचनमा पनि अघिल्लो जितलाई निरन्तरता दिने दाउमा देखिनुभएको छ तर यस क्षेत्रबाट दुई पटक निर्वाचित सङ्घीय सांसदहरूले भने जनताको अपेक्षा अनुरूप नीतिनियम बनाउन नसकेको भन्दै मतदातामा निराशा छाएको छ । यस पटकको निर्वाचनमा क्षेत्र नं. १ बाट पूर्वमन्त्रीद्वयसहित नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्याय र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामीबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
त्यसै गरी निर्वाचन क्षेत्र नं. २ मा सङ्घीय सरकारका पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेसनेता नारायणप्रकाश (एनपी) साउद चुनावी मैदानमा हुनुहुन्छ । विसं २०७९ को निर्वाचनमा एमालेका नेता नरबहादुर धामीलाई छ हजार ४५५ मतान्तरले पराजित गर्दै साउद विजयी हुनुभएको थियो । पूर्वमन्त्री साउद पनि अघिल्लो जितलाई निरन्तरता दिने दाउमा देखिनुभएको छ । क्षेत्र नम्बर २ अन्तर्गत कलुवापुर–बेलौरी सडक स्तरोन्नति गरिने, पूर्वाधार निर्माणका कार्य, रोजगारी समस्या समाधानलगायतका वाचा गर्नुभएका साउदले वाचा भने पूरा नगरेको मतदाताको गुनासो छ ।
क्षेत्र नं. २ मा अहिले एमालेका वचनबहादुर सिंह, नेकपाका माधव पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहोरा चुनावी मैदानमा हुनुहुन्छ । सो क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ । कञ्चनपुर–३ मा नेपाली कम्युनिस्ट पार्टीबाट सुदूरपश्चिम प्रदेशका पूर्वभूमि व्यवस्था तथा सहकारीमन्त्री मानबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ । नेता सुनारले यसअघि आधुनिक कृषि प्रविधिको प्रवर्धन, किसानमुखी नीति, कृषकको जीवनस्तर सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाए पनि पूरा गर्न नसकेको भन्दै मतदाता निराश छन् । सो क्षेत्रबाट एमालेका नेता डा. दीपकप्रकाश भट्ट, नेपाली कांग्रसेका नेता हरिप्रसाद बोहोरा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्रबहादुर महतासहित सुदूरपश्चिमका पूर्वमन्त्री सुनारबिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
प्रतिकृया दिनुहोस