जनताको बीचमा जाने प्रयासलाई रोकियो:ओली

छिनोफानो   शुक्रबार १०, मङि्सर २०७८ ०४:३६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको प्रमुख राजनीतिक पार्टी मात्र नभएर देशलाई परिवर्तन दिलाउने पार्टी भएको दावी गरेका छन् । चितवनमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले एमाले ऐतिहासिक अभिभारा बोकेको पार्टी भएको बताए ।

अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । ओलीले आगामी निर्वाचनहरूमा बहुमत ल्याउनका लागि तयारी गर्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । संसद् पुनः स्थापना गरेर सरकारबाट गलत ढंगबाट बाहिरिनु परेको भन्दै त्यसलाई सच्याउनका लागि बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो ।

‘जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ । यो देशका लागि हो, एमालेका लागि होइन । देश बनाउन, सार्वभौम सत्ताको रक्षा गर्नका लागि, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वयनका लागि एकल बहुमत ल्याउनु पर्छ,’ ओलीले भने, ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नकालागि एमालेले बहुमत ल्याउनु पर्छ ।’

‘गलत बाटो नजाउँ, अध्यादेश परमादेशको बाटो नजाउँ, परमादेशबाट सरकार नबनाइ बरु जनताका बीचमा जाउँ भनेर आग्रह गरेका थियौ,’ ओलीले भने, ‘जनताका बीचमा जान अरु राजनीतिक शक्तिहरू त्रसित भए । जनताका बीचमा जाने प्रयासलाई रोकियो ।’

उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए । उनले सम्बोधनको क्रममा भने, ‘नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन । वास्तविक रुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले ।’ उनले एमाले अब चुनावको तयारीमा रहेको बताउँदै भने, ‘तपाईहरुले छानेर पठाएका प्रतिनिधि गैरजिम्मेवार छैनन् । अत्यन्तै जिम्मेवार छन् ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु