सुदूरपश्चिममा दशैँमा ९ जनाको मृत्यु

छिनोफानो   शनिबार ३०, असोज २०७८ ०३:११

बैतडी : दशैँको अवधिमा सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा  नाै जनाको ज्यान गएको छ। घटस्थापना असोज २१ गतेदेखि असोज २९ गते विजयादशमीको दिनसम्म प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा नाै जनाको मृत्यु भएको हो।

दुर्घटनामा परेर १७ जना गम्भीर र ६ जना सामान्य घाइते भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

साे अवधिमा प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन्। दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ११ छन्। यस्तै जीप/कार दुई ट्याक्टर र एक बस एक छन्।  

चाडपर्वका समयमा आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ। यसका साथै दशैँको समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था जाँच नगर्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।  

साना सवारी चालकले लापरवाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्ने, सडक साघुँराे र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए। उनले भने, ‘चाडपर्वको बेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्दछ।’

थाहा खबर बाट साभार

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु