ड्रोनको सहायतामा २४ घण्टामै समातियो बाघ

छिनोफानो   शनिबार १९, साउन २०८१ ०४:०९

काठमाडौं । बाघ नियन्त्रणमा प्रविधि प्रयोग प्रभावकारी बनेको छ । दोधारा चाँदनी नगरपालिका–२ कमलाशा टोलमा एक महिलामाथि आक्रमण गरेको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले २४ घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको हो ।

स्वदेशी जनशक्ति र उपकरण प्रयोग गरी बाघलाई यति छोटो समयमा नियन्त्रणमा लिइनुलाई सफल उदाहरण मानिएको छ । निकुञ्ज र सुरक्षाकर्मीको ‘सर्च’ अभियान नै जारी रहेको समयमा बाघले बिहीबार बिहान कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार बाघलाई शुक्रबार साँझ बर्दियाको रम्भापुर सेक्टरमा लगिएको छ । जहाँ मान्छेलाई आक्रमण गरेका बाघलाई नियन्त्रणमा राख्ने गरिन्छ ।

संरक्षण अधिकृत ऐरका अनुसार कञ्चनपुरमा बाघको यो आक्रमण निकुञ्ज, बाघ नियन्त्रणको विशेषज्ञ टोली र सुरक्षाकर्मीका लागि समेत नयाँ चुनौती थियो । किनकि, यहाँ यसअघि बाघको गतिविधि रेकर्डमा थिएन ।

सोहीकारण बाघको आवागमन पत्ता लगाएर उसमाथि डार्ट हान्नु र नियन्त्रणमा लिनु वास्तवमै चुनौतीपूर्ण थियो । तर, प्रविधि सहायताले बाघको गतिविधि हेरी हात्तीको सहायतामा उसलाई नियन्त्रणमा लिइएको छ । संरक्षण अधिकृत ऐर भन्छन्, ‘यो अपरेसनका धेरै सकारात्मक पक्ष छन्, सबैको समन्वयमा बाघलाई छिटो नियन्त्रण गरी थप क्षति हुनबाट जोगाउन सफल भयौं ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु