रातो मच्छिन्द्रनाथ : ललितपुरको जावलाखेलमा भक्तजनको घुइँचो

छिनोफानो   शनिबार १९, साउन २०८१ १२:०१

काठमाण्डौ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न अहिले ललितपुरको जावलाखेलमा भक्तजनको घुइँचो लागेको छ ।

आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथबाट भात चढाएर विशेष पूजा गरिन्छ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने चलन छ । पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ ।

नेपाल भाषामा जा भनेको भात र व्हला भनेर छर्किने हो । त्यसरी भात छर्किने ठाउँ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ । मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ । अस्ति विहीबार रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएकोले भोलि भोटो जात्रा हुने तय भएको हो ।

रथ जावलाखेल पुर्‍याइएको चार दिनमा भोटो देखाइने परम्परा छ । भोटो जात्राको अवसरमा भोलि काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ ।

गएको वैशाख २९ गते पुल्चोकबाट रथ तानेर शुरु भएको यस वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै भोलि सकिनेछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु