बाख्राको खोरभित्र अजिंगर पसेपछी ....

रासस   आइतबार २७, साउन २०८१ ०७:५९

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरमा शनिबार दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो ।

आठ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए । “अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षितसाथ समातेर बोरामा राख्यौँ,” उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिंगर फेला परेको जानकारी दियौँ । त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिंगरसहितको बोरा दियौँ ।”

उद्धार गरिएको अजिंगरलाई कर्मचारीले निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन् ।

अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुन सक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए । उनका अनुसार, गत वर्ष पनि सोही क्षेत्रनजिकबाट अजिंगरको उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाइएको थियो । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु