सुदूरका पहाडी क्षेत्रमा खानेपानीको हाहाकार

छिनोफानो   सोमबार ०८, कार्तिक २०७८ ११:४५

कात्तिक । बाढी पहिरो प्रभावित भएका सुदूरका पहाडी क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । जिल्लाका डोटी,बैतडी,बझाङ लगायतका जिल्लामा खानेपानीको हाहाकार भएको हो ।

बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुहानमा पहिरो जाँदा खानेपानीको समस्या भएको त्यहाँका स्थानीयहरूले बताएका छन् ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० का श्याम नेपालीले बाढी पहिरोले पानीको मूलहरू बगाउँदा खानेपानीको समस्या भएका बताए । बेमौसमी अविरल वर्षाका कारण जिल्लामा ठुलो नोक्सानी बेर्हनुपर्यो उनले भने साथसाथै बाढी पहिरोले यहाँका पानीका मूलहरू समेत बगेका छन् ।  जसका कारण जिल्लमा खानेपानीको ठुलो समस्या खेप्नुपरेको अवस्था छ ।

उनले सफा खानेपानी नहुँदा स्थानीयहरूमा झाडा पखाल ज्वरो जस्ता समस्या समेत बढ्न थालेको बताए । यस्तै बैतडीमा पनि खानेपानीको हाहाकार भएको छ। जिल्लाको दशरथचन्द  नगरपालिका वडा नम्बर ४ गढी, गोठालापानी र शाहिलेकमा खानेपानीको हाहाकार भएको हो। बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुहानमा पहिरो जाँदा खानेपानीको समस्या भएको हो ।

गाउँमा भएका पानीका मुहान बाढीले बगाएपछि कयौँ घरधुरी खानेपानीको समस्या भोग्न बाध्य भएको स्थानीय प्रकाश चन्दले बताए ।

“अहिले गाउँमा एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता आएको छ,” उनले भने , “बस्तुभाउ त परै जाओस् मानिसले खाने पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताईरहेको छ ।”

दशरथचन्द   नगरपालिका ४ मा मात्रै २ सय ८० घरधुरी खानेपानीको वञ्चितमा परेको उनको भनाई छ । अहिले सो क्षेत्रमा सदरमुकाम गढीमा रहेको हनुमान ध्वज गुल्मले पानी सहयोग गर्दै आइरहेको छ । गुल्ममा रहेको पानी गढीका स्थानीय तथा होटेल व्यवसायीहरूलाई  गढी का स्थानीय र व्यवसायीहरूलाई खानेपानी सहयोग गरिरहेको हनुमानध्वज गुल्मका गुल्मपति खिमबहादुर रानाले बताए ।

“एका एक आएको बाढी पहिरोले यहाँका सबै मूल नहरहरू बगाएर लग्यो अहिले जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव सिर्जना भइरहेको छ,” उनले भने,“खानेपानीको समस्या भएपछि जिल्ला सदरमुकाम गढीमा रहेको हनुमान ध्वज गुल्मले अहिले सो क्षेत्रमा पानी सहयोग गरिरहेको छ । आइतबार मात्रै हामीले गढीमा रहेका सरकारी कार्यालयहरूलाई पनि खानेपानी सहयोग गरेका थियौँ ।”

उता डोटीमा पनि खानेपानीको पानीको समस्या भएको छ । डोटीमा गत साताको अविरल बेमौसमी बर्सातका कारण खानेपानीको मुहान भत्किएका छन्। मुहान नै भत्किएपछि जिल्लाको पिपल्ला बजार लगायतका क्षेत्रमा खानेपानी अभाव भएको हो ।

दीपायल सिलगढी नगरपालिका ४ बसपार्कमा होटेल सञ्चालन गर्दै आइरहेका तेज बहादुर डुम्रेलले खानेपानीको समस्याका कारण होटेल सञ्चालन गर्न समेत समस्या भइरहेको बताए।“अहिले जिल्ला सदरमुकाम लगायतका आसपासका क्षेत्रमा खानेपानीको समस्या सिर्जना भएको छ । जसका कारण हामी होटेल व्यवसायीलाई समेत ठुलो समस्या भएको छ । केही दिन यता नगरपालिकाले दमकलद्वारा बजारमा पानी वितरण गरे पनि पर्याप्त पानी नहुँदा ठुलो समस्या खेप्नु परेको छ,”उनले भने ।

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह  गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु