शोरुमबाटै ३ वटा मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरू एक दिन नबित्दै पक्राउ

छिनोफानो   सोमबार ०८, कार्तिक २०७८ ०३:४७

 कञ्चनपुरको बेलौरीमा रहेको डिडी अटोमोबाइल्सबाट ३ वटा मोटरसाइकल चोरी भएको एक दिन नबित्दै प्रहरीले चोरी घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

बेलौरीको बजाज मोटरसाइकल शोरुम समेत रहेको डिडी अटोमोबाइल्समा शनिबार राति एक समूहले तोडफोड गरी ३ वटा नयाँ मोटरसाइकल चोरी गरेको थियो । उक्त घटनामा संलग्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ बस्ने २० वर्षीय विवेक बम र शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय पारस बिष्टलाई प्रहरीले आइतबार साँझ नै पक्राउ गरेको र उनीहरू माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहा स्थित गणेशसिंह रावलको घर अगाडिको परालको थुप्रोमा लुकाई छिपाइ राखेको अवस्थामा शोरुमबाटै चोरी भएको १ थान नयाँ मोटरसाइकल र चोरी घटनामा प्रयोग गरिएका १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरिएको छ ।

उक्त घटनामा कम्तीमा पनि ५ जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरू र शोरुमबाटै चोरी भएका बाँकी २ वटा नयाँ मोटरसाइकलको खोजि कार्य जारी रहेको बताउँदै प्रहरी निरीक्षक खड्काले छिट्टै सार्वजनिक गरिने उल्लेख गर्नुभयो ।

घटनाबारे जानकारी गराउने बेलादेखि नै निक्कै सक्रियतापूर्वक अनुसन्धानमा केन्द्रित भएको प्रहरी टोलीलाई डिडी अटोमोबाइल्सका सञ्चालक दीपेन्द्र बिष्टले धन्यवाद ज्ञापन गर्नुभयो । शोरुममा जोडिएको सिसिटिभी क्यामेराको तार काटेर १ थान ‘पल्सर २०० सिसी’ र २ थान ‘पल्सर १५० सिसी’ मोडेलका मोटरसाइकलहरू चोरी भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु