प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन रासस

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ १२:०६

दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेका छन् । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो ।

कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायालेकस्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

हिमपातका कारण अत्यधिक जाडो बढेर पानी समेत पिउन नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकरका प्रहरी नीतिकुण्डमै बसेका छन् ।

त्यहाँका स्थानीयवासी आउँदो मंसिर पहिलो साता मात्रै सदरमुकाम खलंगा, कुञ्चा सर्ने तयारी भएको व्याँस गाउँपालिका–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । “बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ति दुईपटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियो,” उनले भने ।

तिंकरमा रहेका प्रहरी जाडोयाममा बर्सेनि नजिकका अन्य युनिटमा सर्ने गर्छन् । अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन निर्माण सुरुवात भएको छ । तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)को भवन यस वर्ष निर्माण भएको छ । तर, सशस्त्र प्रहरीले बस्न सुरु गरेका छैनन् । चीनसँग जोड्ने मार्गमा रहेको प्रहरीचौकी भवन सुविधासम्पन्न नहुँदा सुरक्षाकर्मी त्यहाँ बाह्रैमास बस्न सक्दैनन् ।

छांगरुमा सशस्त्र प्रहरीको ५० नम्बर गुल्म स्थापना छ । गुल्मका लागि गत वर्षबाट भवन निर्माण सुरु भए पनि अधुरै छ । सशस्त्रले अहिले भाडाको घरमा बसेर डिउटी गर्दै आइरहेको छ ।

यहाँका स्थानीयवासी छ महिना चिसो छल्न सदरमुकाम खलंगा र छ महिना गर्मी छल्न व्याँसको छांगरु, तिंकर उक्लिने गर्छन् । उनीहरू नेपालतिर आउन बाटो नभएपछि हरेकपटक भारतीय बाटो हुँदै बसाइँसराइ गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु