दार्चुलामा चीनसँग जोडिएका सीमा नाका सुरक्षाविहीन

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ १२:४१

दार्चुलाको उत्तर व्यास गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । कात्तिक पहिलो साता स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिमपातसँगै तिंकरको छाया लेक स्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् । त्यहाँका स्थानीयवासी आगामी मंसिर पहिलो साता मात्रै सदरमुकाम खलङ्गा बसाइँसराइ (कुञ्चा) सर्ने तयारी भएको व्यास गाउँपालिका–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए ।

‘बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ती दुई पटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियो’, उनले भने । तिंकरमा रहेका प्रहरी जाडोयाममा वर्षेनी नजिकका अन्य युनिटमा सर्ने गर्छन् । अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन निर्माण शुरुवात भएको छ ।

तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को भवन यस वर्ष निर्माण भएको छ तर सशस्त्र प्रहरीले बस्न सुरु गरेका छैनन् । चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधा सम्पन्न नहुँदा सुरक्षाकर्मी त्यहाँ बाह्रैमास बस्न सक्दैनन् । छांगरुमा सशस्त्र प्रहरीको नम्बर ५० गुल्म स्थापना छ ।

गुल्मका लागि गत वर्षबाट भवन निर्माण सुरु भए पनि अधुरै छ । सशस्त्रले अहिले भाडाको घरमा बसेर ड्युटी गर्दै आइरहेको छ । यहाँका स्थानीयवासी छ महिना चिसो छल्न सदरमुकाम खलङ्गा र छ महिना गर्मी छल्न व्यासको छांगरु तिंकर उक्लिने गर्छन् । उनीहरू नेपालतिर आउन बाटो नभएपछि हरेक पटक भारतीय बाटो हुँदै बसाइँसराइ गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु