बैतडी एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

छिनोफानो   सोमबार २२, कार्तिक २०७८ ०१:२३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशन अन्तर्गत बैतडी जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सकिएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् ।

यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् । दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको टिप्पणी हुन थालेको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरुलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए । ‘अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ,’ उनले भने ।

हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन , पुर्चौडी र मैलौली नगरपालिकामा क्रमशः अजबहादुर पाण्डे, ललितसिंह ठगुन्ना, कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन् । यस्तै दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर,सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा क्रमशः काशीसिंह विष्ट, रघुवीर बोहरा, प्रकाश चन्द, महेन्द्र चन्द, सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन् ।

यसैबीच जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने यही कात्तिक २७ गते हुने भएको छ । प्रदेश सभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने एमाले बैतडीले जनाएको छ । एमालेको दशौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु