टीकापुर – कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आफूलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् ।
कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए । ‘मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौ’ उनले भने ‘धान बेचेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउ र जोताइ खर्च जोहो गर्नुपर्छ । त्यसैले धान दाउने बित्तिकै बेच्नुपर्छ तर सरकारले मूल्य तोकेको छैन ।’
स्थानीय गल्ला व्यापारी तथा धान खरिद गर्ने व्यवसायीले धान प्रतिक्विन्टल २ हजार २ सयदेखि २ हजार ३ सयसम्ममा खरिद गरिरहेका छन् । सरकारले समर्थन मूल्य नतोकेको र धान राम्रोसँग नसुकेको कारण सुरुआती चरणमा उक्त मूल्यमा धान खरिद गरिरहेको व्यापारी नवीन श्रेष्ठले बताए ।
सरकारले धान सस्तो मूल्यमा बेचेर सकिने बेला समर्थन मूल्य निर्धारण गर्ने भएकाले धान उत्पादनको लागत मूल्यभन्दा सस्तोमा धान बेच्नुपरेको किसानको गुनासो छ । सरकारले अहिलेसम्म कुनै जानकारीसमेत नगराएको र मन्त्रिपरिषद्को निर्णयले धानको समर्थन मूल्य निर्धारण गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा परिपत्रपछि कार्यान्वयन हुने गर्दछ । तर अहिलेसम्म कुनै जानकारी नभएको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख एन्जिला बस्नेतले बताए ।
‘मूल्य निर्धारण गरिएको छैन, निर्धारण भएपछि हामीले धान खरिद डिपो लगाउने गर्दछौ’ उनले भनीन ‘अहिले व्यापारीले आ–आफ्नै तरिकाले धान खरिद गरिरहनुभएको छ ।’ गत वर्ष टीकापुरमा कात्तिक १८ गतेदेखि खाद्य व्यवस्था तथा कम्पनीले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धान २ हजार ८ सय ८५ मा खरिद सुरु गरेको थियो ।
बाढीले धानको बीजवृद्धि खेतीमा क्षति
गएको असोजमा कैलालीमा आएको बाढी तथा डुबानले तयारी अवस्थामा रहेको धान बालीमा नोक्सानी भयो । धेरै किसानले खाने बाली तथा बीउ उत्पादनका लागि धानखेती गरेका थिए । बाढी तथा डुबानले खानका लागि लगाएको बालीसँगै बीउ उत्पादनका लागि गरिएको खेतीमा असर गर्दा यस वर्ष बीजवृद्धि खेतीको उत्पादन घट्ने बीउ उत्पादक कृषि सहकारीको भनाइ छ ।
जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि कृषक सहकारी संस्था मुनुवाले यस वर्ष एक सय ८० हेक्टरमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको थियो । बीउका लागि गरिएको खेती रोपेदेखि विभिन्न समयमा खेतको निरीक्षणसँगै उत्पादनको अवस्थामा पुग्ने बेलासम्म धानखेत राम्रै उत्पादन दिने अवस्थामा थियो । बाली तयारी अवस्थामा पुगेका बेला असोजमा दुईपटक आएको वर्षा र बाढीले धानखेतीमा क्षति पु¥याएको सहकारीले जनाएको छ ।
सहकारीको यस वर्ष चार हजार क्विन्टल धानको बीउ सङ्कलन गरी भण्डारण गर्ने योजना थियो । तर बाढी र डुबानका कारण बीजवृद्धिका लागि गरिएको खेतमा नोक्सानी हुँदा धानको बीउको मात्रा घट्ने सहकारीका व्यवस्थापक गोविन्द रावतले बताए । ‘यस वर्ष हामीले बीजवृद्धिका लागि सघाएका क्षेत्रमा समेत उत्पादन घटेको छ । बाढीले डुबेको र ढलेको धान बीउका लागि योग्यसमेत हुँदैन’ उनले भने ‘अहिले किसान धान संकलन गर्दैछन् । तर धानको बीउ भने घट्ने निश्चित हो ।’
टीकापुरका नमूना बहुउद्देश्यीय सहकारीले पनि यस वर्ष ८२ बिघा क्षेत्रमा विभिन्न जातको धानको बीजवृद्धि कार्यक्रम गरेको थियो । करिब १ हजार २ सय क्विन्टल धानको बीउ संकलन गर्ने लक्ष्य राखेको छ । तर बाढी तथा डुबानले गर्दा धानको बीजवृद्धिका लागि गरिएको बालीमा नोक्सानी गरेकाले बीउ उत्पादनमा असर पर्ने सहकारीका व्यवस्थापक लीला चौधरीले बताए ।
टीकापुरकै धनसिंहपुर कृषि सहकारीले पनि ६२ बिघा क्षेत्रफलमा बीउ उत्पादनका लागि धानको बीउवृद्धि खेती गरेको थियो । बाढी तथा डुबानले गर्दा धानको बीजवृद्धिका लागि गरिएको १५ बिघा क्षेत्रफल बालीमा नोक्सानी गरेकाले बीउ उत्पादनमा असर पर्ने सहकारीका व्यवस्थापक मुना घर्तीमगरले बताए ।
टीकापुर नगरपालिकामा आठ र जानकीमा तीन सहकारी बीउ उत्पादन संघमा आबद्ध छन् । सहकारीले विभिन्न बालीको बीउ उत्पादन गर्दै आएका छन् भने धानको मात्र यस वर्ष करिब पाँच सय हेक्टरमा बीउ उत्पादनका लागि बिजवृद्धि कार्यक्रम सञ्चालन गरेका छन् ।
प्रतिकृया दिनुहोस