विदेशका दुःखले सिकायो पौरखी बन्न

छिनोफानो   बिहिबार १३, चैत २०८१ १०:३५

बैतडी ।  “दुःख र अपमान खानाकी तै विदश झानैन, गाडा खुनला सियारी पाठो बाकरो पाल्लौ !” बैतडेली भाषामा आफ्ना पीडा सुनाउँदै पदमबहादुर ऐलीले विदेशको दुःख दर्शाउनुभयो । बिदेसिनुभन्दा पाखो बारी स्याहार्दै बाख्रा पाल्ने अठोट लिएर उहाँ स्वदेश फर्किनु भएको छ ।  

सिगास गाउँपालिका–१, जुकेपानीका ५० वर्षीय पदमबहादुर ऐरी रोजगारी खोज्न भारतका गल्ली गल्ली भौँतारिएर दुःख कष्ट भोग्दै बर्सौंपछि स्वदेश फर्किनुभएको छ । १० जनाको परिवार पाल्ने अभिभाराले उहाँ बिदेसिन बाध्य हुनुभएको थियो । आकासे पानीको भरमा खेती गर्नु पर्दा तीन महिना खान नपुग्दा  परिवार पाल्नकै लागि भारतको दिल्लीमा चौकीदारी गर्न पुगेको उहाँले बताउनुभयो । त्यहाँ भोग्नु परेको अपमान र पीडाले छाती पोले पनि जहान परिवारको पेटले केही वर्ष दुःख सहेर बसेको उहाँले पीडा सुनाउनुभयो ।  

बर्सौपछि केही आम्दानी गरेर स्वदेश फर्किनुभएका ऐरीले अहिले गाउँमै बाख्रापालन सुरु गर्नुभएको छ । विदेशबाट कमाएको रकम र केही ऋणसमेत गरेर उहाँले चार लाख ७५ हजार रुपियाँ बिउ पुँजीबाट बाख्रापालन सुरु गरेको बताउनुभयो । खोर निर्माणका लागि बाख्रापालनका लागि गाउँपालिकाले ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।  पाठापाठीसमेत गरेर अहिले ६५ वटा बाख्रा रहेको उहाँले बताउनुभयो । स्थानीय तहको सरकारले थोरै भए पनि सहयोग गरेकामा हौसला बढेको उहाँले बताउनुभयो । सरकारले कृषि र पशुपालनमा अझै लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी दिन सकिने उहाँको धारणा छ । 

पदमबहादुर ऐरीको गाउँ र वडाबाट हजारौँ युवा अहिले पनि विभिन्न मुलुकमा रोजगारी खोज्न गएका छन् । स्थानीय र प्रदेश सरकारले प्रतिफल आउने क्षेत्रमा लगानी गर्न नसक्दा गाउँमा रोजगारी सिर्जना हुन सकेको छैन । सिगास गाउँपालिका–१ का छ वटा गाउँटोलमा ४१९ घरधुरीका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा रहेको वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । बजकोटको गिवाडीखोला टोलको दलित बस्तीका शतप्रतिशत युवा भारतमा ज्याला मजदुरी गर्दै आइरहेका छन् । वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाहेक कुनै बजेट नभएको वडाध्यक्ष ऐरीले बताउनुभयो ।  

भौतिक पूर्वाधारमा लगानी आवश्यक भए पनि अनुत्पादक क्षेत्र मन्दिरमा समेत सरकारी रकम खर्च हुने गरेको पाइएको छ । बैतडी–बझाङ जोड्ने जयपृथ्वीमार्गसँगै जोडिएको वडाका गाउँमा व्यावसायिक कृषि र पशुपालनका लागि बजेट नहुँदा गाउँमा रोजगारी सिर्जना हुन नसकेको वडाध्यक्ष ऐरीले स्पष्ट पार्नुभयो । पक्की सडकसँग जोडिएका केही गाउँटोलमा भने आलुखेती हुने गरेको छ । वडाध्यक्ष ऐरीले आफैँ आलु खेतीमा लागेको बताउनुभयो ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु