धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा न. १ मा रहेको पशुपति सामुदायिक बनमा रहेको खैर को काठ टेन्डरमा व्यापक चलखेल भएको पाइएको छ । सब डिभिजन कार्यालय चौमालाका कर्मचारी र सामुदायिक बनका अध्यक्ष,काठ व्यवसायी मिलेमतोमा टेन्डरमा व्यापक चलखेल भएको हो ।
पशुपति सामुदायिक बनमा रहको २७ सय क्यु फिट खैर को काठ बिक्री वितरणका लागी सामुदायिक बनले सूचना गोप्य राख्दै र सरकारी छापको दुरुपयोग गर्दै टेन्डर आफू निकट उद्योगलाई पारेको छ ।
कुनै पनि टेन्डर आव्हान गर्दा राष्ट्रिय पत्रपत्रिकामा २१ दिन सम्म प्रकाशित गर्नु पर्ने हुन्छ । तर सब डिभिजन कार्यालयका कर्मचारीले सो सूचना कुनै पनि ठाउँमा टाँस नगरेरै सो टेन्डर ओम कत्था उद्योग नेपालगन्जलाई पारेका छन् । सब डिभिजन कार्यालय चौमालाका कर्मचारीहरूले आर्थिक चलखेल गर्दै सूचना समेत गोप्य राख्दै टेन्डर आफू निकट कत्था उद्योगलाई पारेको उद्योगी अमर देउवा बताएका छन् ।
सो टेन्डरको सूचना डिभिजन बन कार्यालय, जिल्ला प्रशासन कार्यालय,सब बन डिभिजन कार्यालय,सम्बन्धित सामुदायिक बन कार्यालयमा तथा वडा कार्यालयमा टाँस गर्नु पर्ने हुन्छ ।
तर कुनै पनि ठाउँमा सूचना टाँस नगरी टेन्डर एक लौटी रूपमा ओम कत्था उद्योग नेपालगन्जलाई पारे पछि अन्य उद्योग ब्यावसायीहरुले टेन्डर प्रक्रियामा व्यापक चलखेल भएको भन्दै छानबिनका लागी सब डिभिजन बन कार्यालयमा निवेदन दर्ता गरेका छन् ।
अन्य ब्यावसायीहरुले आफूहरूको हस्ताक्षर समेत दुरुपयोग गरेका आरोप लगाएका छन् । टेन्डरका लागी कञ्चनजङ्घा उद्योग प्रावि,बागेश्वरी उद्योग प्राली,एभरेस्ट कत्था उद्योगले दर्ता गरेका थिए । पशुपति सामुदायिक बनका अध्यक्ष गणेश बुढा र व्यावसायिक गोविन्द सिहको मिलेमतो रहेको आरोप कत्था उद्योगीहरूको रहको छ । व्यवसायी सिंह र अध्यक्ष बुढाले आर्थिक चलखेल गर्दै उक्त टेन्डर नेपालगन्जमा रहेको ओम कत्था उद्योगलाई पार्न लगाएको आरोप अन्य उद्योगीहरूले लगाएका छन् ।
व्यवसायी गोविन्द सिंहले आफू माथि लागेको आरोप निराधार रहेको बताएका छन् । उनले आफूले अन्य उद्योगीहरू लाई समेत सहयोग गरेको तर गलत नगरेको दाबी गरे । सिंहले अन्य चार ओटै कत्था उद्योगको टेन्डरबारे जानकारी लिँदै अन्त्यमा आफू निकटको ओम कत्था उद्योगलाई टेन्डर पार्न सब बन डिभिजन कार्यालयका कर्मचारीलाई समेत आर्थिक प्रलोभनमा पार्दै सरकारी छाप समेत कार्यालय प्रमुखलाई समेत जानकारी नगराउँदै दुरुपयोग गरेको भेटिएको हो । उनको दाबी आधारहीन रहेको प्रमाण छिनोफानो डटकम सँग सुरक्षित रहेको छ ।
काठ टेन्डर प्रक्रिया बारे सब डिभिजन बन कार्यालय चौमालाका प्रमुख कृष्ण बोहोरा समेत अनविज्ञ रहेका छन् । उनले आफू समक्ष फाइल नपुगेको बताउँदै फाइल पुगेमा सो बारे आवश्यक प्रक्रिया अगाडी बढाउने बताए ।
यस्तो छ टेन्डर प्रक्रियाको जालो
गौरीगंगा नगरपालिका वडा न १ मा रहेको पशुपति सामुदायिक बनले बनमा रहेको खैर को काठ बिक्री वितरणका लागी टेन्डर आव्हान गर्यो । सामुदायिक बनका अध्यक्ष र सब डिभिजन बन कार्यालय चौमालाका केही कर्मचारीको मिलेमतोमा सो टेन्डर आव्हान सूचना प्रक्रिया पुराउनका लागी एक पत्रिकामा प्रकाशित गरियो ।
तर सो सूचना गोप्य नै राखियो र निश्चित केही ब्यावसायीहरुलाई मात्र जानकारी दिइयो । सो मध्ये सुरुमा कञ्चनजङ्घा उद्योग प्रावि,बागेश्वरी उद्योग प्राली,एभरेस्ट कत्था उद्योगले टेन्डर दर्ता गरे । घटिघटाऊ रूपमा टेन्डर हालेका उद्योगहरूलाई झट्का दिँदै ओम कत्था उद्योग नेपालगन्जले टेन्डर दर्ता गर्यो । र अध्यक्ष बुढा व्यावसायिक सिंह र सब डिभिजन कार्यालय चौमालाका कर्मचारीहरूको सेटिङमा सो टेन्डर ओम कत्था उद्योगले हात पार्यो । टेन्डर प्रक्रियामा रहेको सूचना चुहावट भएकोले नेपालगन्जमा रहेको कत्था उद्योगले सो टेन्डर पाएको भन्दै अन्य ब्यावसायीहरुले छानबिनका लागी निवेदन दिए । तर सो निवेदनको बारे अहिले सम्म छलफल हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस