धनगढी। इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर ज्यान गुमाएका प्रहरी जवान सन्देश चदाराको अन्त्येष्टि गरिएको छ।
सोमबार राति भएको घटनापछि टीकापुर प्रादेशिक अस्पतालमा शव परीक्षण गरी बुधबार धनगढीस्थित गोदावरी आर्यघाटमा हिन्दु संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० योगेन्द्र तिमिल्सिनाका अनुसार चदारालाई सम्मानसहित सलामी अर्पण गर्दै अन्तिम संस्कार गरिएको हो।
अन्तिम संस्कार कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ओमबहादुर राना, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र चन्दसहित अन्य वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो।
प्रहरीका अनुसार बझाङको तलकोट गाउँपालिका स्थायी घर भएका चदारा हाल परिवारसहित धनगढीको फूलबारीमा बस्दै आएका थिए। उनी विगत ६ महिनादेखि इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत थिए।
प्रारम्भिक अनुसन्धानका अनुसार घटना भवितव्य हुनसक्ने देखिएको प्रहरीले जनाएको छ। घटना हुनुभन्दा केही मिनेटअघि चदारा श्रीमतीसँग फोनमा कुरा गरिरहेका थिए।
ड्युटीमा रहेका उनी श्रीमतीसँग कुरा गर्न निर्माणाधीन भवनको छतमा पुगेका थिए। श्रीमतीसँग कुराकानी सकिएको केही मिनेटमै उनी छतबाट तल खसेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले ‘ड्युटीमा जान्छु’ भन्दै फोन काटेको केही मिनेटमै घटना भएको देखिएको छ।
यद्यपि मृतकका परिवारले घटना शंकास्पद भएको बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी तिमिल्सिनाले जानकारी दिए।
प्रतिकृया दिनुहोस