एसएसबीले तुइनको लठ्ठा फुस्काउँदा धामी महाकालीमा खसे; छानबिन प्रतिवेदन

  आइतबार २०, भदौ २०७८ ०२:०८

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काउँदा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर–२, खाङदाङस्थित माल बस्ने जयसिंह धामी महाकालीमा खसेर उनको ज्यान गएको हो । साउन १५ मा बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ । सो घटना छानबिनका लागि साउन १७ गते गृहमन्त्री बालकृष्ण खाणले सहसचिव जनार्दन गौतमको नेतृत्वमा समिति गठन गरेका थिए । गौतम नेतृत्वको समितिले करिब १ महिनापछि अर्थात् भदौ १५ मा प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले घटनामा प्रत्यक्ष रुपमा सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

छानबिन समितिको ठहर

जयसिंह बेपत्ता भएको स्थान ब्यास गाउँपालिका–२, मालघाट हो, जहाँबाट साउन १५ मा जयसिंह भन्दा पहिले चारजना तुइनमा झुण्डिएर पार भइसकेका थिए । जयसिंह पाँचौ नम्बरमा तुइन तर्दै थिए । नेपालतर्फ खाँबो गाडेर तुइन अड्काइएको थियो । पारीपट्टी भारतको गस्कु ईलाकामा रुखमा तुइनको लठ्ठा बाँधिएको थियो ।

जयसिंहभन्दा पछि तुइनबाट भारततर्फ जानका लागि पालो कुरेर बसेका दुईजना थिए । उनीहरु काठमाडौं जाने गाडी चढ्नका लागि भारतको बाटो हुँदै सदरमुकाम खलंगा जान खोजेका थिए । मालघाट (नेपालतर्फ) अर्का ब्यक्ति थिए, तुइन सञ्चालक । सहसचिव गौतम नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले जयसिंहभन्दा अगाडि तुइन तरेका चारजना र वारिपट्टी रहेका तीन जनासँग भेटेर कुराकानी गरेको छ ।

छानबिन प्रतिवेदनमा जयसिंह महाकालीमा झरेको क्षणलाई यसरी ब्याख्या गरिएको छ, ‘जयसिंह तुइनको लगभग अन्तिम बिन्दुमा पुग्दै थिए, त्यहिबेला भारततर्फबाट ओरालो बाटो झरेर आएका दुईजना सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीले रुखको फेदभन्दा केही माथि बानेको लठ्ठा फुस्काउँदा जयसिंह महाकाली नदीको भेलमा झरे ।’

सो दृश्य नेपालतर्फ रहेका तुइन सञ्चालक सहित ३ जनाले देखेको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । ‘जयसिंहभन्दा अगाडि तुइनबाट महाकाली तरेकासँग चाहिँ सशस्त्र सीमा बलको भेट भएन,’ प्रतिवेदन उद्धृत गर्दै गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीसँग भने, ‘चारजना हिँडिसकेपछि एसएसबीका दुईजना प्रहरी आएर तार खुस्काउँदा सो घटना भएको छानबिन समितिको निष्कर्ष छ ।’

प्रतिवेदनले कुटनीतिक पहल गरेर सशस्त्र सीमा बल (एसएसबीं) का अधिकारीमाथि अनुसन्धान गरेर पीडितलाई क्षतिपूर्ति दिलाउन सिफारिस गरेको छ । प्रतिवेदनका आधारमा कुटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु