११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड

छिनोफानो   सोमबार २७, असार २०७९ ०६:२७

निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७।५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबर भएको छ ।
पछिल्ला केही महिनायता निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको तुलनामा नगण्य नै रहेको छ । निर्यातको आधार सानो भएको तथा आयातको वृद्धि उच्च रहेका कारण व्यापार घाटा वृद्धि हुँदै गएको छ । आव २०७८र७९ को ११ महिनामा कूल वस्तु निर्यात ५३।३ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८५ अर्ब ८४ करोड बराबर पुगेको छ ।

पेट्रोलियम पदार्थको आयात ८१ प्रतिशतले बढ्यो
केन्द्रीय बैंकका अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयात ८१।१ प्रतिशतले वृद्धि भएको छ । कोरोना कालपछि हरेक क्षेत्रमा सक्रियता बढेपछि पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य मात्रामा वृद्धि भएको हो । नेपालले आयात गर्ने प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ, यातायात उपमकरण, मेसनिरी तथा पार्टस र औषधि छन् । कूल वस्तु आयातमा त्यस्ता वस्तुको हिस्सा करिब एक तिहाई बराबर छ । यस्तै, यातायातको उपकरण तथा पार्टुको आयात करिब दुई प्रतिशत, अन्य मेसिनरी तथा पार्टस्को आयात २२ प्रतिशत र औषधिको आयात १२४ प्रतिशतले वृद्धि भएको छ ।
आठ खर्ब ११ अर्ब विप्रेषण
केन्द्रीय बैंकका अनुसार चालु आवको दश महिनामा रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । चालु आवको सुरुवातदेखि नै विप्रेषण आप्रवाहमा अपेक्षाकृत रुपमा वृद्धि हुन सकेको थिएन । पहिलो नौ महिनासम्म विप्रेषण आप्रवाह घट्दै आएकामा दशौँ महिनामा सामान्य वृद्धि भएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९।२ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाहमा १।६ प्रतिशतले कमी आएको हो । केन्द्रीय बैंकका अनुसार गत फागुनमा रु ९१ अर्ब, चैतमा रु ९४ अर्ब र वैशाखमा रु ८७ अर्ब बराबरको विप्रेषण आप्रवाह भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा उतसाहजनक वृद्धि हुँदै गएको छ ।
चालु आवको १० महिनामा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा उल्लेख्य रुपमा वृद्धि भई दुई लाख ७८ हजार २९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८।४ प्रतिशतले घटेको थियो ।

भित्रनेभन्दा बाहिरिने पैसा बढी
केन्द्रीय बैंकका अनुसार देशभित्र भित्रने पैसा भन्दा बाहिरिने मुद्राको मात्रा बढिरहेको छ । आयातमा वृद्धि हुँदै गएको, विप्रेषणमा आप्रवाहमा सुधार हुन नसकेका कारण चालु खाता घाटा तथा शोधानान्तरमा चाप परेको छ । चालु आवको १० महिनामा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा थियो । यस्तै, शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । चालु आवको सुरुवातदेखि नै चालु खाता घाटा विगत पाँच वर्ष भन्दा उच्च गतिमा विस्तार हुँदै आएको थियो ।

अघिल्लो आवमा चालु खाता घाटाको कूल उत्पादनसँगको अनुपात ७।८ प्रतिशत छ । चालु आवको १० महिनामा चालु खाता घाटा जीडीपीको अनुपात ११।३ प्रतिशत पुगेको छ । यस्तो अनुपात सन् २०२२ मा बङ्गलादेशमा ३।२ प्रतिशतm भुटानमा १०।६ प्रतिशत, भारतमा २।९ प्रतिशत, पाकिस्तानमा ५।३ प्रतिशत र श्रीलङ्कामा ७।१ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

मुलुकको बाह्य क्षेत्रमा परेको चापले विदेशी विनिमय सञ्चिति व्यवस्थापनमा चुनौती थपेको छ । चालु आवको १० महिनामाम विदेशी विनिमय सञ्चितिमा करिब २।४७ अर्ब अमेरिकी डलरले कमी आई ९।२८ अर्ब डलर कायम भएको छ । यस्तो सञ्चिति ६।६ महिनाको वस्तु तथा सवा आयातका लागि प्रर्याप्त हुने देखिन्छ । आयात गर्ने क्षमताका आधारमा उक्त सञ्चिति विगत ६ वर्षयताकै न्यून छ ।

केन्द्रीय बैंकले दिएको जानकारीअनुसार सन् २०२१ मा बङ्गलादेशमा ६।२९ प्रतिशत, भारतमा ९।८३, चीनमा ११।६६, मालदिभ्समा २।४२ र पाकिस्तानमा ३।३६ महिनाको आयातका लागि प्रर्याप्त हुने विदेशी विनिमय सञ्चिति रहेको थियो । पछिल्लो समयमा नेपाली मुद्राको अमेरिकी डलरसँग भइरहेको अवमूल्यनले मुद्रास्फिति नियन्त्रणमा चुनौती थप्ने जोखिम छ । केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार २० गतेसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६।९ प्रतिशतले अवमूल्यन भएको छ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु