अछामको एकै वडाबाट ५५ हजार किलोभन्दा बढी मकै बिक्री

छिनोफानो   मङ्गलबार ०३, पुष २०८० ०७:१२

अछाम — अछामको एकै वडाबाट ५५ हजार किलोभन्दा बढी मकै संकलन गरेर बिक्री भएको छ । मंगलसेन नगरपालिका–६ मा यहाँकै शिवशक्ति कृषि सहकारी संस्थाले प्रतिकेजी ६० रुपैयाँका दरले सोमबारसम्म ५५ हजार किलोभन्दा बढी मकै किनिसकेको छ । सहकारीका व्यवस्थापक बेदराज भण्डारीका अनुसार ६ नम्बर वडाको वडा कार्यालय र गुठिना टोलमा किसानका मकै संकलनका लागि स्थान तोकिएको छ ।

मकै पकेट क्षेत्रका रूपमा रहेको यस वडाबाट किसानबाट मकै संकलन गरेर धनगढीमा रहेको पञ्चकोशी सिड कम्पनीले सहकारीमार्फत खरिद गर्ने सम्झौता गरेको भण्डारीले बताए । १२ वर्षअघि कृषिकै क्षेत्रमा काम गर्नका लागि स्थापना भएको सहकारीले कृषकलाई मकैको बिउ दिने र कृषकसँगै खरिद गर्ने सम्झौता गरेको पनि उनले बताए । अघिल्ला वर्षमा थोरै मात्रामा कृषकबाट मकै संकलन हुने गरेकोमा यसपटक भने अन्य खेती छोडेर पनि मकै खेती लगाउने कृषक बढेको उनले बताए । कृषकले उब्जाएका मकै हामीले २ वर्षदेखि संकलन गर्दै आएको उनले बताए ।


‘बढ्दो बसाइँसराइले खेतीयोग्य जमिन पनि गाउँमा धेरै बाँझा थिए । सहकारीमार्फत नै बिउ दिएर तपार्इंहरू जति सक्नु हुन्छ मकै उत्पादन गर्नुस् । उब्जाएको मकै खरिद गर्ने जिम्मा हाम्रो भयो भनेर कृषकहरूलाई प्रोत्साहन गर्न र सम्झाउन नै हामीलाई ८ वर्ष लाग्यो,’ व्यवस्थापक भण्डारीले भने,‘अहिले भने यो वडामा सोचेभन्दा धेरै मकै उत्पादन भयो । एकजना कृषकले नै १५ सय कलोसम्म मकै बेचेका छन् । ’ उनका अनुसार गाउँमा नै मकै संकलन गर्ने र सम्झौता गरेको कम्पनीलाई गाउँबाट नै बेच्ने उनले बताए । सोमबारसम्म २ सयभन्दा बढी कृषकले मकै बेचेको उनले बताए । वडाका कृषक दुर्गाप्रसाद भण्डारीले ११ क्विन्टल, माधवप्रसाद भण्डारीले १० क्विन्टल, उज्जवली भण्डारीले ४ क्विन्टलसम्म बेच्ने कृषक रहेको उनले बताए । उनका अनुसार धेरै मकै उत्पादन गर्ने कृषकलाई सहकारीले सम्मान पनि गर्ने भएको छ ।

गाउँमा बाँझो रहेको जमिन पूरै जमिनमा यही वर्षदेखि मकै खेती सुरु गरिएको मंगलसेन नगरपालिका–६ का कृषक नन्दाराम भण्डारीले बताए । ‘मैले पनि १५ हजारभन्दा बढीको मकै बेचेँ । यसअघि घरमा भएको मकै नबेचिने र आफ्नो लागि मात्रै प्रयोग हुन्थो । यसरी गाउँमा नै मकै बेच्न पाएपछि आम्दानी पनि भएको छ । जग्गा पनि बाँझो रहेन,’ उनले भने,‘तर बँदेलले भने अहिले वडाभर संकलन भएको भन्दा बढी मकै खाएको छ । वर्षभरि खेती लगायो अन्त्यमा सबै बँदेलको मुखमा जान्छ । मेहनत खेर जाने डरले खेती लगाउन पनि डर लाग्छ ।’ गाउँमै स्थापना भएको सहकारीले गाउँमै आम्दानी र रोजगारीको वातावरण सिर्जना गरेको उनले बताए ।

मंगलसेन नगरपालिकाको ६ नम्बर वडा मकै पकेट क्षेत्र, भैंसी पकेट क्षेत्र र आलु पकेट क्षेत्र रहेको वडाध्यक्ष देवेन्द्रप्रसाद भण्डारीले बताए । खेतीयोग्य जमिनका रूपमा वडाको धरै क्षेत्र रहेकाले आगामी दिनमा सोहीअनुसार कृषि कार्यक्रम लागू गर्ने उनले बताए । ‘गाउँमै मकै बेच्ने र पैसा पाउने भएपछि कृषक पनि खुसी भएका छन् । गाउँमा बाँझो जमिन कम देखिन थालेको छ,’ उनले भने, ‘कृषकहरूलाई थप प्रोत्साहन दिन वडाले पनि सहयोग गर्नेछ ।’ उनका अनुसार मकै पकेट क्षेत्रका रूपमा रहे पनि बँदेलको बिगबिगीले किसान हैरान भएका छन् । ६ नम्बर वडाका मात्रै १ सय ७ जना कृषकको सबै मकै सखाप हुने गरी बँदेलले यही वर्ष सखाप पारेको उनले बताए । बँदेलको बिगबिगी निण्न्त्रणका लागि वन कार्यालय र अन्य निकायसँग छललफल गरेर समाधन गरिने उनले बताए ।

कान्तीपुर बाट साभार 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु