काठमाडौं । भारतको आसाममा सात वर्षअघि बुबा-आमाको निधन भएपछि १५ वर्षीया ‘अनारमनी २१’ (पीडितको परिवर्तित नाम) लाई हजुरआमाले झापास्थित आफ्नो घरमा ल्याएकी थिइन् । तर, विर्तामोडमा बस्ने हजुरआमा आफैंलाई छाक टार्न धौधौ पर्थ्यो ।
उनको परिस्थिति बुझेपछि स्थानीय तहबाट केही सहयोग हुन्छ कि भनेर हजुरआमा ‘अनारमनी २१’ लाई लिएर बिर्तामोड नगरपालिका पुगिन् । त्यसबेला हजुरआमाका केही छिमेकी पनि उनको साथमै नगरपालिका गएका थिए ।
विर्तामोड नगरपालिकामा ध्रुवकुमार शिवाकोटी भर्खरै मेयरमा निर्वाचित भएका थिए । उनी कार्यकक्षमा भएकै बेला हजुरआमासहित केही मानिसहरु गएर उनको अवस्थाबारे बताएका थिए ।
‘त्यसवेला करिब ६ वर्षजतिकी नानीलाई ल्याएर यिनको कोही आफन्त, नातागोता छैन । एक जना हजुरआमा छिन्, उनी आफैंले खान लगाउन पाएकी छैनन् भनेका थिए’, शिवाकोटीले स्वयम्ले प्रहरीसँग बयानमा भनेका छन्, ‘उनलाई धेरै दुःख छ, यो नानीलाई नगरपालिकाले जिम्मा लिएर लालनपालनको व्यवस्था मिलाउनुपर्छ भन्ने अनुरोध आएको थियो ।’
आफूले पहिल्यै घरमा ३ जना बालिकाहरुलाई लालनपालनका लागि राखिसकेकाले उनलाई पनि त्यसैगरी राख्न परिवारसँग छलफल गरेको उनले दाबी गरेका छन् ।
‘उनकी हजुरआमा समेत शिवाकोटीकी छोरी भएको र स्थानीयको अनुरोधपछि मैले घरबाट श्रीमतीलाई बोलाएर सल्लाह गरेको थिएँ’, उनले भनेका छन्, ‘श्रीमतीले हुन्छ भन्ने मन्जुरी दिएपछि उनलाई घरमा लगेका थियौं ।’
तर, सात वर्षपछि तिनै किशोरीलाई जबरजस्ती करणी गरेको आरोप पूर्वमेयर शिवाकोटीलाई लाग्यो । शिवाकोटी अहिले प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई बी.एण्ड सी. अस्पताल, विर्तामोडमा राखिएको छ । बलात्कारसम्बन्धी यो मुद्दामा जिल्ला अदालत, झापामा थुनछेक बहस चलिरहेको छ ।
सीमाबाट उद्धार गरिएको थियो पीडितलाई
पूर्वी नाका काँकडभिट्टामा २४ मंसिरमा बिहान साढे ९ बजेतिर एक किशोरी कलेज ड्रेसमा देखा परिन् । एक्लै भारततर्फ जान लागेको देखेपछि किन (आफन्त) नेपाल नामक संस्थाका कर्मचारीहरुले उनलाई सोधपुछ गरे ।
सीमामा चेलिबेटी बेचबिखन जस्ता आपराधिक गतिविधि रोक्न ‘किन नेपाल’ लगायतका संस्था सक्रिय रहन्छन् । संस्थाका कर्मचारीले रोकेर सोध्दा सुरुमा उनले आफू किसनगञ्जमा रहेका परिवारलाई भेट्न हिँडेको खुलाएकी थिइन् ।
आफन्तको सम्पर्क नम्बरसहितको विवरण माग्दा उनले दिन सकिनन् । किन नेपालकी कर्मचारी सिता अधिकारीले प्रहरीसमक्ष गरेको कागज अनुसार, त्यसपछि उनकी सहकर्मीले ‘अनारमनी २१’ लाई छुट्टै राखेर जानकारी गराएकी थिइन् ।
‘म १० बजेतिर पुगेपछि तिमी कोसँग हिँडेको ? कहाँबाट आएको ? भारततिर जाने खर्च छ ? जस्ता प्रश्नहरु सोधें’, उनले भनेकी छन्, ‘त्यसपछि उनले आफू एक्लै आफन्तकहाँ जान लागेको भनेकी थिइन्, इण्डिया जान ७ सय रुपैयाँ छ भनेकी थिइन् ।’
‘मेरो आफ्नै बुबा-ममी नभएकाले बिचल्ली हुन्छु भन्ने सोचेर उक्त घटनाबारे कसैलाई सुनाउन सकिनँ’, उनले भनेकी छन्, ‘कहिलेकाहीँ बुबासँग पैसा माग्दा पनि उहाँले सम्बन्ध राखे मात्र दिन्छु भन्नुहुन्थ्यो ।’
पछि उनले आफू सानैदेखि ध्रुव शिवाकोटीको घरमा बसेको खुलाएकी थिइन् । ‘उनले आफू ल्याब टेक्निसियन पढ्दै आएको भनेकी थिइन्, शिवाकोटीको नम्बर रहेको बताएकी थिइन्’, अधिकारीले भनेकी छन्, ‘त्यसपछि आफन्त नभइ एक्लै जान हुँदैन भनेर हामीले उनलाई इलाका प्रहरी कार्यालय, काँकरभिट्टा लगेका थियौं ।’
प्रहरी कार्यालयमा पुगेर शिवाकोटीको नम्बर लिएर फोन गरेर ‘अनारमनी २१’ भारततर्फ जाँदै छिन् भनेर जानकारी गराउँदा उनले आफू आउँदै गरेको बताएको अधिकारीले भनेकी छन् । ‘हामीले तिमीलाई लिन ध्रुवकुमार शिवाकोटी आउँदै हुनुहुन्छ, उहाँसँगै घर जाउँ भनेका थियौं’, उनले थपिन्, ‘त्यसपछि उनले त्यो घरमा जादिनँ, मलाई कक्षा ८ पढ्दादेखि नै शिवाकोटीले जबरजस्ती करणी गर्ने गरेको बताएकी थिइन् ।’
अन्तिम पटक १५ मंसिरमा जबरजस्ती करणी गरेकाले सहन नसकी कलेज जान्छु भनेर घर छाडेर हिँडेको उनले बताएको अधिकारीले भनेकी छन् । ‘म मरे पनि त्यो घरमा जादिनँ भनेर रुँदै प्रहरी र हामीलाई समेत उनले बताइन्’, अधिकारीले थपिन्, ‘पीडितको आफन्त खोजतलास गर्दा हजुरआमा नाता पर्ने र उनका छोरा आइपुगे ।’
त्यसपछि प्रहरीले घटनास्थल इलाका प्रहरी कार्यालय, अनारमनी अन्तरगत पर्ने भन्दै विर्तामोड प्रहरीकहाँ पठाइदिएको थियो । विर्तामोडमा प्रहरीले प्रारम्भिक बयान लिने भन्दै शिवाकोटीलाई बोलायो । त्यहीँबाट उनको हातमा हत्कडी लाग्यो ।
‘पटकपटक बलात्कृत भएपछि घर छाडें’
पीडितले प्रहरीलाई दिएको बयानअनुसार, शिवाकोटीको घरमा भविष्य राम्रो हुन्छ भन्दै हजुरआमाले बस्न भनेकी थिइन् । ‘त्यसपछि म उहाँको घरमा बस्न थालेँ, म उहाँलाई बुबा भनी बेलाउँथे भने निजले मलाई सानी भनी बोलाउनु हुन्थ्यो’, उनले भनेकी छन्, ‘घरमा म र सँगै काम गर्ने दुई जना कामदार दिदीहरु भुइँतलामा सुत्थ्यौं ।’
पीडितका अनुसार आफूलाई ‘सानी’ भनेर बोलाए पनि कक्षा ६ मा पढ्दैबाट शिवाकोटीले दुर्व्यवहार गर्न खोज्थे । ‘उहाँले मेरो छातीतिर हात पुर्याइ गलत तरिकाले छुन खोज्नु हुन्थ्यो’, उनले भनेकी छन्, ‘उहाँले धेरैपटक मेरो संवेदनशील अंगमा हात पुर्याउनु भएको थियो ।’
पीडितका अनुसार शिवाकोटीलाई ढाड दुख्ने समस्या थियो । ‘त्यतिवेला उहाँले मलाई वेला-वेलामा ढाड थिचिदिनु भनेर नजिकै कोठामा बोलाउने गर्नुहुन्थ्यो’, पीडितले भनेकी छन्, ‘शिवाकोटी बुबाको श्रीमती अस्ट्रेलिया जानु भएको थियो, ठ्याक्कै मिति याद भएन । तर, त्यतिबेला उहाँले मलाई पहिलो पटक करणी गर्नुभयो ।’
पीडितका अनुसार, ढाड थिचिदिन भन्दै बोलाएपछि कोठामा जाँदा शिवाकोटीले ढोकाको चुकुल लगाएका थिए । ‘त्यसपछि मैले आफ्नो कोठामा सुत्न जान्छु भन्दा समेत उहाँले मलाई बाहिर जान नदिई जबरजस्ती गर्नुभयो’, उनले भनेकी छन्, ‘त्यतिबेला मलाई एकदमै पीडा भएको थियो ।’
पूर्वमेयर ध्रुवकुमार शिवाकोटी ।
त्यसको दुई हप्तापछि फेरि आफूमाथि शिवाकोटीले करणी गरेको उनले बयान दिएकी छन् । त्यो कुरा कसैलाई भने घरबाट निकालिदिने भन्दै धम्क्याएको उनको भनाइ छ । ‘मेरो आफ्नै बुबा-ममी नभएकाले बिचल्ली हुन्छु भन्ने सोचेर उक्त घटनाबारे कसैलाई सुनाउन सकिनँ’, उनले भनेकी छन्, ‘कहिलेकाहीँ बुबासँग पैसा माग्दा पनि उहाँले सम्बन्ध राखे मात्र दिन्छु भन्नुहुन्थ्यो ।’
शिवाकोटीले श्रीमती घरमा नभएका वेला बोलाएर जबरजस्ती गर्ने गरेको उनले बयान दिएकी छन् । ‘मैले त्यो कुरा उहाँकी बुहारी (मैले भाउजू भनी बोलाउने गरेको) लाई सुनाउँदा बुबा मसँग तीन महिना बोल्नु भएन’, उनले भनेकी छन्, ‘पछिल्लो समय उहाँको ढाडको अप्रेसन गर्नुपर्ने भएकाले उहाँ रातको समयमा पिसाब फेर्न आफू सुत्ने कोठामा बाल्टी राख्नुहुन्छ ।’
श्रीमती काठमाडौं गएका वेला १५ मंसिरमा राति शिवाकोटीले आफूलाई बाल्टी लिएर माथिल्लो तलामा बोलाएको र त्यस दिन पनि जबरजस्ती गर्न खोजेको उनले बताएकी छन् । ‘उहाँले बाल्टी ल्याइदेऊ भन्नुभएपछि म माथिल्लो तलामा गएर कोठामा राखिदिएँ’, उनले प्रहरीसँग बयानमा भनेकी छन्, ‘त्यसवेला उहाँले आफूसँग बच्चा नबस्ने अप्रेसन गरेको भन्दै जबरजस्ती गर्न खोज्नुभयो ।’
‘मेरो मन नहुँदानहुँदै उहाँले मलाई जबरजस्ती करणी गरेको हुँदा मनमा डर पैदा भएको थियो, मलाई सहारा दिने मेरो नजिकको आफन्त पनि नभएकाले मैले त्यो कुरा भन्न सकेको थिइनँ’, उनले भनेकी छन्, ‘त्यसपछि आसाममा ठूलीआमा बस्नु हुने भएकाले उहाँसँगै जान्छु भन्ने सोचेर कलेज जान्छु भनेर निस्किएर कलेज नगई काँकरभिट्टा गएकी थिएँ ।’ त्यहाँ आफ्नो कुरा सुनेपछि प्रहरीकहाँ लगिएको उनले भनेकी छन् ।
प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएपछि उनको स्वास्थ्य जाँच समेत गराएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुले घटनाको संक्षिप्त विवरणमा ‘उनी आरोपीको घरमा बस्ने र कक्षा ८ मा पढ्दैदेखि यौनजन्य गतिविधिमा संलग्न रहेको’ लेखेका छन् । उनको कन्याजाली पहिल्यै च्यातिइसकेको समेत शारीरिक परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
यी विषयहरुलाई आधार बनाएर प्रहरीले शिवाकोटीविरुद्ध मुलुकी अपराध संहिता अन्तरगतको जबरजस्ती करणी सम्बन्धी कसुर र बालबालिका सम्बन्धी ऐनविपरीतको कसुर गरेको अभियोगमा अनुसन्धान गरेर रायसहितको प्रतिवेदन बुझाएको छ । प्रहरी प्रतिवेदनका आधारमा कैद सजाय र क्षतिपूर्तिको मागदाबी गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत, झापामा मुद्दा दायर गरिसकेको छ ।
प्रतिकृया दिनुहोस