धनगढी । अछामको कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालले कमलबजार नगरपालिका प्रवक्ता तिमिल्सेना नरहेको प्रतिक्रिया दिए पछि नगरपालिका पुनः तरंगित बनेको छ । २०७९ साँलको स्थानियतह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका वडा न ५ का अध्यक्ष सत्यराज तिमिल्सेनालाई नगर कार्यपालिकाको बैठकले प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको थियो । तर सो निर्णयलाई लत्त्याउँदै नगरप्रमुख ढकालले उनलाई नगर प्रवक्ता बाट हटाउने स्वघोषित निर्णय सामाजिक सञ्जाल मार्फत गरेका थिए । तर पालिकाले हाल सम्म अर्को कुनै पनि ब्याक्तीलाई नगर प्रवक्ताको जिम्मेवारी दिने वा तिमिल्सेनालाई हटाउने भन्ने निर्णय गरेको छैन ।
पालिकामा रहेका १० ओटा वडा मध्ये एमालेले उप मेयर सहित ८ वडामा विजयी हासिल गरेको छ भने नगर कार्यपालिकामा एमालेको स्पष्ट बहुमत छ । कार्यपालिका गठन पछि तिमिल्सेनालाई कार्यपालिकाले नगर कार्यपालिका प्रवक्ताको जिम्मा दिने निर्णय गरेको थियो । प्रवक्ताको जिम्मेवारी सम्हाली सके पछि तिमिल्सेनाले नगरपालिका भित्र रहेका बेथिति विरुद्ध कार्यपालिकामा चर्को रूपमा विरोध गर्दै आएका थिए । आफूले पालिका भित्र हुने कानुन विपरीत गरेका कार्य रोक्न कार्यपालिका बैठकमा चर्को आलोचना गर्दा नगरप्रमुख यज्ञ प्रसाद ढकालले करिब एक बर्ष पछि पालिकाको हित विपरीत काम गरेको भन्दै प्रवक्ताको जिम्मेवारीबाट हटाएको स्वघोषित निर्णय सामाजिक सञ्जालबाट गरेको बताए ।
नगरप्रमुखले सामाजिक संजालमा आफूलाई प्रवक्ताबाट हटाएको भन्दै लेखे पनि कार्यपालिकाको बैठकबाट कुनै पनि निर्णय नभएको तिमिल्सेनाको भनाई छ । प्रवक्ता हटाउन नगर प्रमुख एक्लैले मिल्दैन हामीले कार्यपालिकामा यो बिषयमा छलफल समेत गरेका हौ तर सबै कुरा यथास्थिति मै थियो उनले भने ।
हिजो मात्र नगरप्रमुखले हाल प्रवक्ता कसैलाई पनि नतोकेको समाचारमा प्रतिक्रिया दिएको सुन्दा अचम्म लागेको बताउँदै तिमिल्सेनाले भने कार्यपालिकाले हटाउने निर्णय कहिले गरेको छ र ? त्यो कुरा नगरप्रमुखले किन नबुझेको होलान् उनले भने ।
तर कार्यपालिका बहुमत सदस्यले कार्यपालिकामा एक जनालाई प्रवक्ता तोक्ने भन्दै तिमिल्सेनालाई कार्यपालिका प्रवक्ताको जिम्मेवारी दिएको नगर कार्यपालिका सदस्य एवम् वडा न ९ का अध्यक्ष कमल प्रसाद बजगाईँले बताए । हामीले कार्यपालिका प्रवक्ता तिमिल्सिनालाई तोकेका हौ उहाँ नै प्रवक्ता हो नगर प्रमुखले एक्लैले हटाएर हुन्छ उनले भने ।
नगरप्रमुख ढकालले आफ्नो ब्याक्तिगत इगोका कारण आफ्नो कर्तव्य र अधिकार समेत वास्ता नगरी हचुवाको भरमा स्ट्याटस लेखेको बताए । हाल सम्म कार्यपालिका प्रवक्ताको जिम्मेवारी तिमिल्सेनालाई नै रहेको र कार्यपालिकाले अर्को कुनै निर्णय समेत नगरेको बताए ।
यस्तै कार्यपालिका सदस्य एवम् वडा न ७ का अध्यक्ष नृप बहादुर बोहोराले नगरप्रमुख ढकालले आफ्नो मर्यादा विपरीत कार्यपालिकाको निर्णय लत्त्याउन खोजेको बताए । उनले भने प्रवक्ता नगर प्रमुखको होइन कार्यपालिकाको हो । कार्यपालिकाले आवश्यकताका आधारमा प्रवक्ता राखेको हो उहाँले एक्लैले हटाउँदैमा विज्ञप्ति निकाल्दैमा केही नहुने बताए । हाल सम्म कार्यपालिका प्रवक्ता को जिम्मेवारी तिमिल्सेनालाई नै रहेको बोहराको भनाई छ ।
यता कमलबजार नगरपालिका प्रमुख यज्ञ राज ढकालले भने तिमिल्सेनालाई नगर प्रवक्ताको रूपमा आफूले एक बर्ष अगाडि नै हटाई सकेको दाबी गरे । उनले भने “ मैले सामाजिक संजालमा समेत राखे र फोनबाट समेत उहाँलाई जानकारी गराएको हु ।” उहाँले पालिकाको हित विपरीत प्रतिक्रिया तथा सामाजिक संजालमा लेख्न थाले पछि आफूले हटाएको बताए । नगर प्रमुख ढकाललाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा प्रवक्ता तोक्ने र हटाउने अधिकार कस्लाई दिएको छ भन्ने प्रश्नमा उनले भने सुरुमा सो अधिकार नगरप्रमुखलाई नै भएको बताए । पछि कुन बुँदामा सो अधिकार छ भन्ने प्रश्न पछि ढकालले प्रवक्ता ऐनमा छैन देश भर चलिआएको परम्परा हो,पहिला राखेको थिए पछि उहाँको गतिविधि देखेर हटाएको हु उनले भने ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पालिकामा प्रवक्ता राख्ने भन्ने अधिकार कसैलाई पनि दिएको छैन । तर देशका हरेक पालिकाहरूमा कार्यपालिकाले आवश्यक ठानेमा निर्णय गरेर प्रवक्ता राख्ने चलन चल्दै आएको छ ।
प्रतिकृया दिनुहोस