इन्धन डिपो सार्न पहल सुरु

छिनोफानो   सोमबार २१, साउन २०८१ ०६:०६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामङ्गलमा रहेको इन्धन डिपो सार्न पहल थालिएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको भोलिपल्ट अर्थात् शनिबार मन्त्रीसहितको टोलीले हाल डिपो रहेको स्थल र वैकल्पिक स्थलको निरीक्षणसमेत गरेको छ । निरीक्षणपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विमानस्थलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न निर्देशन दिनुभएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट नजिकै रहेको यो हवाई इन्धन डिपोले ‘उच्च जोखिममा विमानस्थल र बस्ती’ शीर्षकमा गोरखापत्रले बिहीबार समाचार प्रकाशन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार डिपो सार्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीको निर्देशन अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी, सचिव मधुसूदन बुर्लाकोटी र नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले डिपोको स्थलगत अध्ययन गर्नुभएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न लागेको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने सुरक्षा जटिलतालाई न्यूनीकरण गर्न नेपाल आयल निगमलाई तत्काल हवाई इन्धन डिपो सार्न निर्देशन दिएको छु, यसका लागि निगमले आवश्यक तयारी गरिरहेकाले जतिसक्दो छिटो प्रक्रिया अगाडि बढाउँछ,” मन्त्री भण्डारीले भन्नुभयो ।

विमानस्थलनजिकै गुह्येश्वरीमा नयाँ डिपो बनाउने योजना रहेको छ । यसका लागि लाग्ने बजेट निगम आफैँले व्यवस्थापन गर्ने वा अपुग अन्य निकायसँग बजेट माग्न सक्ने मन्त्री भण्डारीले जानकारी दिनुभयो । नेपाल आयल निगम हवाई इन्धन डिपो कार्यालय, सिनामङ्गलका प्रमुख प्रदीप यादवका अनुसार गुह्येश्वरीमा नयाँ डिपो बनाउन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा रकम राख्नसमेत मन्त्री भण्डारीले निगमलाई निर्देशन दिनुभयो । 

विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजना अनुसार सो डिपो सार्न विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्सनजिकै रहेको गुह्येश्वरीतर्फको ५० रोपनी जग्गाको पनि मन्त्री भण्डारीले अवलोकन गर्नुभएको थियो । यो जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु