डोटीबाट सरकारी टोली पेटारोसहित बडीमालिका प्रस्थान

छिनोफानो   मङ्गलबार २२, साउन २०८१ १२:२३

 डोटीको सरकारी टोली सोमबार बडीमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ। जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली पैदल बडीमालिका प्रस्थान गरेको हो।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरी टोलीलाई बिदाइ गर्नुभएको हो। सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित  जिल्ला प्रशासन कार्यालयबाट सोमबार दिउँसो बिदाइ गरेको हो। टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय पुजारी तथा सन्तको सहभागिता रहेको छ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोली पेटारोसहित पैदल जाने गर्दछ। डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिर, नाट्यश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी उक्त टोली बडीमालिका प्रस्थान गर्ने प्रचलन चल्दै आएको छ। परापूर्वकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो। त्यसै अनुरूप जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरकारी पेटारो बडीमालिकाका लागि पठाइएको उहाँले बताउनुभयो।

जनैपूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ। औपचारिक रूपमा पूजाआजा गर्नुपर्ने परम्पराअनुसार अछाम, डोटी, जुम्ला र कालीकोटको सरकारी पूजा टोली बडिमालिका जाने गर्दछ। बाजुरा जिल्लाबाट २०७२ सालदेखि सरकारी पूजा टोली औपचारीकरुपमा बडिमालिका जाने गर्दछ। त्यस अघि पनि आनौपचारिकरुपमा त्यहाँबाट पूजा जाने प्रचलन रहेको पाइन्छ।

चतुर्दशीको पूजाका लागि कालीकोटबाट सुनको गजुरसहित पेटारो (पूजा सामग्रीको पोको) बोकेर सरकारी टोली बडीमालिकाका लागि प्रस्थान गर्छ। अछामको वैद्यनाथ मन्दिरबाट आठ दिनअघि नै पाक्न लागेको धानको बालासहितको टोली र बाजुराबाट तीन दिनअघिबाटै सरकारी टोली मालिका मन्दिर पुग्छ।  बाजुराको हकमा पेटारो पठाउने चलन अन्य जिल्लाभन्दा पछि चलेको पाइन्छ। जुम्लाबाट नागपञ्चमीका दिन सरकारी टोली बाजागाजासहित बडीमालिकाका लागि प्रस्तान हुन्छ। तत्कालीन डोटी गौंडा (हाल जिल्ला)को सरकारी टोली १५ दिनअघि नै बडीमालिकातर्फ प्रस्थान गर्छ। 

यसरी पूजाको डोलीसहित बडीमालिका हिँडेको टोलीलाई सेनाको टुकुटीले सलामी अर्पण, बाजागाजा र बिगुल फुकेर भव्य बिदाइ गर्ने गरिन्छ। सामान्यतः यी पेटारे सरकारी टोलीभन्दा अगाडि कोही जाँदैनन्। 

बडीमालिकाको यात्रा डोटीको पेटारे टोलीबाट सुरु हुन्छ। डोटीबाट सरकारी पूजा नभई अरूले पूजा गर्न नपाउने प्रचलनसमेत रहेको शैलेश्वरी मन्दिरका मुख्य पुजारी प्रेमशंकर भट्टले बताउनुभयो। डोटीपश्चात् अन्य जिल्लाका पेटारे टोली एवं तीर्थयात्रीले पूजा गर्छन्। 

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयबाट हिँडेको सरकारी टोली १५ दिनपछि बडीमालिका पुग्ने छ। पैदल हिँडेको उक्त टोली बास बस्दै, ठाउँठाउँमा पूजाआजा गर्दै जाने प्रचलन रहेको पुजारी भट्टले बताउनुभयो। 

जनैपूर्णिमाको दिन नाट्टेश्वरीका कालिकाको पूजा हुन्छ। नाट्टेश्वरी माई (कालिका) अर्थात् मौरे क्षेत्र प्राचीन समयदेखिको देवीको नाचगान, मनोरञ्जन गर्ने ‘नाचन थली’को रूपमा रहेको विश्वास छ। नाट्येश्वरी माईका पुजारी छत्याल वंशीय ठकुरी हुनुहुन्छ। नाट्टेश्वरी मन्दिरमा पूजा गरेपछि बडीमालिका दर्शनको चक्र पूरा हुन्छ। त्यसपश्चात् पैमा पुजारी आफ्नो मूल घर भण्डार गृह फर्की बाजागाजा, पञ्चकलशसहित देवीलाई भव्य स्वागतका साथ डोली घरमा भित्र्याउने गर्नुहुन्छ।

भगवती बडीमालिकाको पूजा भएपछि मात्रै अन्य क्षेत्रमा पूजाआजा हुने गरेको शैलेश्वरी मन्दिरका मुख्य पुजारी भट्टले बताउनुभयो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु