कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली

रासस   मङ्गलबार २२, साउन २०८१ १२:२५

 एफ आर ए नेपालले सन् २०१० देखि २०१४ सम्म गरेको नेपालको वन क्षेत्रको सर्वेक्षणअनुसार कैलाली मुलुकमा सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । जिल्लाको कूल तीन लाख २८ हजार सात सय १६ हेक्टरमध्ये दुई लाख पाँच सय ७३ हेक्टर वन क्षेत्र रहेको उक्त सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

देशको सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामा अतिक्रमणको समस्या पनि धेरै रहेको सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले बताउनुभयो । उहाँका अनुसार कैलालीमा मात्रै २२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणमा रहेको छ । अतिक्रमण बढेसँगै नियन्त्रणका प्रयासलाई पनि तीव्रता दिइएको विष्टले बताउनुभयो । 

गत आर्थिक वर्षमा जिल्लामा चार सय ८९.४ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लामा दुई वटा डिभिजन वन कार्यालयअन्तर्गत वनको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतको चार सय १६ हेक्टर अतिक्रमण क्षेत्र खाली गराइएको कार्यालयका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिनुभयो । 

उहाँका अनुसार भजनी नगरपालिका-७ मा रहेको पुरैना तालको तीन सय ८१ हेक्टर जमिन खाली गराई ड्याम निर्माण गरिएको छ । भजनी-१ मा रहेको मोहोन्याल, पशुपति र वनदेवी सामुदायिक वन, वडा नम्बर ९ स्थित सयपत्री र लौकाहा भौकाहा सामुदायिक वनमा हटरा बनाइएको र खनजोत गरेको ३३.९ हेक्टर वन क्षेत्र खाली गराइएको ठाकुरले बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा अतिक्रमण हटाई वृक्षारोपण गरिएको छ । 

घोडाघोडी नगरपालिका-२ स्थित मोहोन्याल सामुदायिक वन, लम्किचुहा नगरपालिका-१ स्थित जनकल्याण सामुदायिक वनभित्र बनाइएका भौतिक संरचनाहरू पनि भत्काइएको ठाकुरले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय कैलालीअन्तर्गत ७३ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाइएको सो कार्यालयका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अतिक्रमण हटाइएको ४३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिसकिएको छ भने बाँकी क्षेत्रमा समेत वृक्षारोपणको तयारी भइरहेको छ ।

जिल्लामा विभिन्न बहानामा वन क्षेत्र अतिक्रमण हुने गरेको बताउँदै कँडेलले बाढीपहिरोबाट विस्थापित भएकाहरू अस्थायीरुपमा वन क्षेत्रमा टहरा बनाई बस्ने गरेकाले पनि अतिक्रमण बढेको उल्लेख गर्नुभयो । डिभिजनल वन अधिकृत ठाकुरले भन्नुभयो, “पछि उहाँहरू नै सोही जमिनलाई अतिक्रमण गरी बस्ने गरेकाले वन क्षेत्र अतिक्रमण हुने गरेको छ ।” ठाकुरका अनुसार वन क्षेत्रको भोगाधिकार नलिई विभिन्न सङ्घसंस्था, स्थानीय पालिका, वडा कार्यालयलगायत सरकारी कार्यालयका भवन, मन्दिर, पार्किङस्थल, अस्थायी बजार वन क्षेत्रमा बनाइने गरेकाले पनि वन क्षेत्र अतिक्रमणमा परिरहेको छ । 

जिल्लाको चुरे क्षेत्र हुँदै भारतको दुधुवा नेसनल पार्कलाई जोड्ने अन्तर्राष्ट्रिय महत्वको वसन्ता जैविक मार्गसमेत अतिक्रमणको उच्च चपेटामा रहेको डिभिजनल वन अधिकृत कँडेलले बताउनुभयो । उहाँका अनुसार सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकाको हुलाकी राजमार्ग आसपासमा पर्ने वसन्ता वन क्षेत्र बर्सेनि बाढीपिडितका साथै विभिन्न बहानामा निरन्तर अतिक्रमणको चपेटामा पर्दै आएको छ । 

पछिल्लो समय अतिक्रमण नियन्त्रणका लागि कैलालीमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय संरक्षण समूह, सङ्घसंस्थाबाट सहयोग प्राप्त भए पनि स्थानीय तह र राजनीतिक दलबाट अपेक्षित सहयोग प्राप्त नहुँदा समस्या भइरहेको डिभिजनल वन अधिकृत कँडेलले बताउनुभयो । रासस 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु