बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी

छिनोफानो   बिहिबार २४, साउन २०८१ ०७:५६

बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको सेना प्रमुखको भनाइ छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि बताउनुभएको छ ।

विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिनुभएको थियो । त्यसपछि आन्दोलनरत विद्यार्थीको मागअनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।

यसैबीच, बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले तत्काल बेलायतको शरण नपाउने देखिएको छ । भारतीय सञ्चारमाध्यमले हसिनाको सम्भावित निर्वासनबारे बेलायती अधिकारीहरुसँग लिएको प्रतिक्रियामा उनीहरुले  निर्वासन वा अस्थायी शरण लिनका लागि बेलायत यात्रा गर्ने प्रावधान नभएकोले  हसिनाले बेलायतको यात्रा गर्न नपाउने बताएका छन् । यसै कारण हसिनालाई केही समय भारतमै रोकिनुपर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु