परिपक्क नहुँदै टिपिएका स्याउ गाउँपालिकाको नियन्त्रणमा

छिनोफानो   शुक्रबार २५, साउन २०८१ ११:२७

जुम्लाको तिला गाउँपालिकाले परिपक्क नहुँदै खरिद गरिएका काँचो स्याउ बेच्ने तयारी गरेका व्यापारीको गोदाम नियन्त्रण गरेर सिल गरेको छ । गाउँपालिकाको निर्णयविपरीत काँचो स्याउ बेच्ने व्यापारीको स्याउ राखेको गोदाम सिल गरेको हो । 

बिहीबार गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा गएको सुरक्षाकर्मीसहितको टोलीले तिला १ सेरी बजारमा रहेका चार वटा स्याउका गोदाम सिल गरेको हो  । यसअघि तिला गाउँपालिकाले १३ साउनमा आगामी भदौ ५ गतेभन्दा अगाडि स्याउ टिप्न र निर्यात गर्न नपाउने सूचना जारी गरेको थियो ।

‘तिला गाउँपालिका कार्यपालिकाको निर्णय, कृषि विकास कार्यालयको परिपत्रअनुसार काँचो स्याउ टिप्न र निर्यात नगर्न साउन दोस्रो सातानै गाउँगाउँमा सूचना गरिएको थियो । तर गाउँपालिकाको निर्णय र सूचनाको ठाडो उल्लंघन गर्दै किसान र व्यापारीको मिलेमतोमा लुकीछिपी काँचो स्याउ निर्यात गरेको गुनासो आएपछि बिहीबार उपाध्यक्ष बुढा,निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढासहितको टोलीले स्याउका गोदाममा ताला लगाएको हो ’,उपाध्यक्ष बुढाले भनिन्। 

यद्यपि यसअघि लुकीछिपी तिला ७ को दुई ट्रक स्याउ  निर्यात भइसकेको छ । उक्त वडाको स्याउ निर्यात भएपछि वडा नं. १ राराका किसानले धमाधम काँचो स्याउ टिपेर निर्यात गर्न प्याकिङ गर्न लागेको अवस्थामा पालिकाले गोदाम सिल गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन्। उनका अनुसार बिहीबार चार वटा गोदाममा सिल गरिएको छ  भने तीन वटा गोदाममा शुक्रबार  सिल गरिने छ । 

व्यापारी पार्वती बुढाको एक सय ४२ कार्टुन राखिएको गोदाम, तिला ९ का कमल बुढाको ३९ कार्टुन राखिएको गोदाम, तिला १ का गोरख बहादुर बस्नेतको ४० कार्टुन राखिएको गोदाम र तिला २ का जग रावतका ४० कार्टुन राखिएको गोदाममा पालिकाले ताला लगाएको उपाध्यक्ष बुढाले जानकारी दिइन्।

उनले भनिन, ‘बाँकी तीन गोदामका व्यापारीसँग समन्वय गरी ताला लगाइने छ । पालिकाले भदौ ५ गतेभन्दा अगाडि स्याउ टिप्न र निर्यात गर्न रोक लगाउँदा पनि अटेरी गरेर निर्यात गरेको पाइएपछि सिल गरेका हौँ । भदौ ५ भन्दा अगाडि सिफारिस पनि नदिने र निर्यात पनि हुन नदिने अडानमा छौ ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जुम्लाको पहिचान र आर्थिक समृद्धि सँग जोडिएको अर्ग्यानिक स्याउ नपाक्दै किनबेच हुन  थालेपछि सिल गरिएको बताए । भदौ ५ गतेपछि मात्रै स्याउ बिक्रीको सिफारिस दिएर निर्यात गरिने उनको भनाइ छ । 

लुकीछिपी लिन खोजेको खण्डमा कडा कारबाही गरिने र नाग्म, राराकुडारीका प्रहरी चौकीमा सुरक्षा चेकजाँचमा कडाइ गर्न अनुरोध गरिएको उनले जानकारी दिए । तिलासँगै जुम्लाका विभिन्न क्षेत्रबाट काँचो स्याउ निर्यात भएको पाइएको छ । काँचो स्याउ निर्यात रोक्न पटक पटक निर्णय र छलफल भएपनि कार्यान्वयनमा सरोकारवालाले ध्यान नदिँदा किसान र व्यापारीको मिलेमतो काँचो स्याउ निर्यात हुने गरेको छ । 

तिलाका गोदाम सिल गरेपछि किसान तथा व्यापारीले दुई हप्तासम्म कार्टुन स्याउ प्याक गरेर राखेपछि पछि कुहिएको खण्डमा पालिकाले जिम्मेवारी लिनुपर्ने माग गरेका छन् । कसैलाई स्याउ लिन दिने र कसैलाई रोक्ने भन्दै उनीहरूले गुनासोसमेत पोखेका छन् । 

अर्ग्यानिक स्याउ उत्पादनको केन्द्र मानिएको जुम्लाबाट किसान र व्यापारीले क्षणिक लाभका लागि काँचो स्याउ बजारमा लिने गरेका छन् । जसका कारण अर्ग्यानिक तथा स्वादिष्ट स्याउको परिचय पाएको जुम्लाको पहिचानै खतरामा परेको छ। 
स्याउमा भर्खर कलर हालेर गुलियोपना भरिँदै छ । तर गाउँगाउँमा व्यापारी पुगिसकेका छन् । किसान पनि राम्रो मूल्य पाइने सोचमा बिक्री गर्ने मनसायमा छन् । हरेक वर्ष काँचो स्याउको निर्यात रोक्ने छलफल र निर्णय भएपनि रोक्न भने चुनौती देखिएको छ । पछि राम्रो मूल्य नपाइने र घरमै थन्काएर राख्नु पर्ने बाध्यताले छिटै टिपेर निर्यात गर्ने गरेको किसानको भनाइ छ । यद्यपि स्थानीय सरकारले स्याउ खरिदको जिम्मा लिएको खण्डमा असोजसम्म पनि बोटमै राख्न तयार रहेको किसानहरू बताउँछन् । तर किसानको उत्पादनको जिम्मा लिन सरकार तयार छैन । 

जुम्लाका करिब १९ हजार घरधुरी स्याउ खेती गरिरहेको सरकारी तथ्यांक छ । यहाँका ८ वटै पालिकामा स्याउ खेती हुन्छ। तर अधिकांश किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे ज्ञान नहुँदा श्रमअनुसारको लाभ लिन सकेका छैनन् ।
स्याउ किसानलाई ढुवानीमा सहुलियतदेखि मलजल तथा बगैँचा व्यवस्थापनबारे स्थानीय तहले पनि पर्याप्त सिपसहित प्रविधि दिन सकेको छैन । जुम्लामा ग्रेडिङ मेसिन पनि छैन । जसकारण जुम्लाको स्याउ हचुवामै बिक्री हुने र करोडौँ आम्दानी गर्न सकिने सम्भावना भएपनि किसानले घाटा खानु पर्ने बाध्यता छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु