लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले प्रदेश संसदीय दलको नेता चयन

छिनोफानो   आइतबार ०२, भदौ २०८१ ०९:४०

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयन हुनुभएको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलको हिजोको बैठकले मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

उपनेता आचार्य मुख्यमन्त्री भएसँगै संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिनुभएको थियो । रिक्त रहेको संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्यलाई चयन गरिएको हो । दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णयप्रति असन्तुष्ट गिरीले गएको साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो ।

बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ । यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ ।

चौधरी यसअघि पनि प्रमुख सचेतक नै रहनुभएको थियो । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त आचार्यले पर्सि भदौ ४ मा विश्वासको मत लिने तयारी छ । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु