पूर्ण बजेट ल्याउन प्रक्रिया सुरु

छिनोफानो   मङ्गलबार ०४, भदौ २०८१ १०:१७

धनगढी, भदौ ४ गते । प्रदेश सरकारले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै पूर्ण बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीस्थित मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिनुभएको हो । उहाँले प्रक्रियागत रूपमा चाँडै बजेट सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेट पारित गराउन नसकेपछि चालु आर्थिक वर्ष उधारोमा चलिरहेको छ । 

चालु आवको चालु र पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्र चलायमान बनाउन समस्या भइरहेको छ । सरकारले बजेटविहीनताको अवस्था चाँडै अन्त्य गर्ने भनाइ मुख्यमन्त्री शाहको छ । “आवश्यक प्रक्रिया पूरा गरेर छिटोभन्दा छिटो पूर्ण बजेट सार्वजनिक गर्छौं,” उहाँले भन्नुभयो, “बजेटका लागि सरकार तथा सत्तारूढ गठबन्धन दलहरूबाट केही आधार तय गरेका छौँ ।”

प्रदेशको आवश्यकता र औचित्यका आधारमा बजेट निर्माणका लागि आधार तय गरिएको मुख्यमन्त्री शाहले उल्लेख गर्नुभयो । बजेट निर्माणको बाँकी प्रक्रिया पूरा गर्न प्रदेश सभामा बजेट तथा योजना पेस गरेर सहमतिकै आधारमा बजेट सार्वजनिक गरिने जनाइएको छ । 

प्रदेश सभा सदस्यहरूको सहमतिका आधारमा प्रक्रियागत ढङ्गबाट अगाडि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो । सरकारले कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमका लागि २५ लाख रुपियाँभन्दा माथि सिलिङ कायम गरी बजेट विनियोजन गरिने भएको छ । सरकारले आवश्यकता र औचित्यका आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भए कार्ययोजनासहित ससर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने शाहले स्पष्ट पार्नुभयो ।

यसै गरी व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी, सहकारी आदिलाई तोकेर बजेट विनियोजन नगर्ने र उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन पनि नगर्ने जनाइएको छ । यसै गरी पत्रकारले सोधेको जिज्ञासाको जवाफमा मुख्यमन्त्री शाहले सुशासन र छिटोछरितो सेवा दिने कुरामा दृढताका साथ लाग्न कर्मचारीलाई निर्देशन दिनुभयो । विपत्सँग जोडिएको कुरामा प्रदेश सरकार आँखा चिम्लेर नबस्ने र जतिसक्दो चाँडै सम्बोधन गर्ने दाबी गर्नुभयो । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु