टिकटकमाथिको प्रतिबन्ध हट्यो

छिनोफानो   शुक्रबार ०७, भदौ २०८१ ०६:१७

काठमाण्डौ – सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले करिब एक वर्षदेखि बन्द रहेको टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको जानकारी दिनुभयो । निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले त्यसबाहेक पनि चार शर्तहरु पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने शर्त राखिएको छ ।

टिकटकले यी शर्तहरु स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरिएको सञ्चारमन्त्री गुरुङले बताउनुभयो । सामाजिक सद्भाव भड्काएको भन्दै अघिल्लो वर्ष अशोजमा सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

टिकटक लगायतका सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न नपाउने सरकारले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु