एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन काम थालिसक्यौँ : प्रधानमन्त्री

छिनोफानो   शुक्रबार १४, भदौ २०८१ ०४:०४

धुलिखेल : प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभरि अनलाइनबाट अध्यापन गराइने घोषणा गरेका छन्।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको बताए।

“५० प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय हो। यस्तो अवस्था अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छु‚’ उनले भने‚ ‘बढी नम्बर दिएर नभई  विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ। अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ।’’

उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट गरे। उनले आफूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–शिपको सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे। 

उनले भने, “अब तपाईंहरु संसारका जुनसुकै कुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ। तपाईंहरुका लागि संसार खुल्ला छ। तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसको सदुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस्।” 

समारोहमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सीजीपीए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साइन्सबाट स्नातक तहमा ४ सीजीपीए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे। 

स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरको, रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेकिडल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र  स्कुल अफ एजुकेशनकी रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक पनि प्रधानमन्त्री ओलीले प्रदान गरे। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा समारोहमा विदेशी विद्यार्थीसहित २ हजार ३१४ विद्यार्थी दीक्षित भएका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु