नेपालमा डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघ्यो, हैजाका बिरामी ७५ जना पुगे

छिनोफानो   शनिबार १५, भदौ २०८१ १२:०१

काठमाण्डौ – देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

यस्तै सङ्क्रमणका कारणले तीन जनाको ज्यान गएको छ । डेङ्गीको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ जनामा सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा सात सय ९१, मधेसमा एक सय, बाग्मतीमा एक हजार ६ सय २३, लुम्बिनीमा चार सय ४४, कर्णालीमा ९३ र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जनामा सङ्क्रमण देखिएको छ ।

सबैभन्दा धेरै प्रभावित जिल्ला तनहुँमा एक हजार एक सय १६ जना सङ्क्रमित छन् । यस्तै काठमाण्डौ जिल्लामा पाँच सय ११, भक्तपुरमा ६९ र ललितपुरमा एक सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गी लाग्छ । डेङ्गी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

यस्तै महाशाखाका अनुसार देशभर हैजाका बिरामी ७५ जना पुगेका छन् । ललितपुर, काठमाण्डौ, प्यूठान, मकवानपुर, कैलाली र रोल्पामा हैजाका बिरामी भेटिएको महाशाखाले जनाएको छ । ललितपुरमा ५०, काठमाण्डौमा १०, कैलालीमा आठ, रोल्पामा चार, प्यूठानमा दुई र मकवानपुर एकजनामा हैजा पुष्टि भएको छ ।

हैजा सङ्क्रमितमध्ये ७४ जना निको भएका छन् । एक जनाको उपचार भइरहेको छ । हैजा अति सङ्क्रामक र शीघ्र फैलिने पखाला भएकाले यसबाट जोगिनका लागि पानी उमालेर या शुद्धीकरण गरेर पिउन, बासी र सडेगलेका खानेकुरा नखान तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञहरुले आग्रह गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु