मोरङको सुन्दरहरैँचामा नाबालक दिदीबहिनी मृत फेला, आमा बेपत्ता

छिनोफानो   आइतबार १६, भदौ २०८१ १२:५४

मोरङको सुन्दरहरैँचामा नाबालक दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । तीन वर्षीया अर्पणा र डेढ वर्षीया आयिका मृत फेला परेका हुन् । शनिबार साँझ स्थानीयले केराघारीमा दिदीबहिनीकाे शव फेला पारेका हुन् । नाबालक दिदीबहिनीको मृत्युको रहस्य खुल्न सकेको छैन ।

घाँस काट्न गएका स्थानीयले केराघारीमा बालिकाहरू मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बालिकाहरूको छेउमा विषादीको बट्टा पनि भेटिएको छ ।  

आमा बेपत्ता 
श्रीमानसँग घरझगडा भएपछि तीन वर्षीया अर्पणा र डेढ वर्षीया आयिकालाई लिएर शुक्रबार साँझदेखि आमा बेपत्ता भएकी थिइन् । आमासँगै बेपत्ता भएका दुईजना बालिकाको शव फेला परेको हाे । तर, आमा अझै बेपत्ता छिन् । सुन्दरहरैँचा नगरपालिका- ७ बेलगाछीकी ३० वर्षीया आमा अस्मिता फेला नपर्दा दिदीबहिनीको मृत्युको रहस्य खुल्न नसकेको प्रहरीले जनाएको छ ।

श्रीमान् र छिमेकीहरूले प्रहरीलाई दिएको प्रारम्भिक जानकारीअनुसार धनकुटाको पाख्रिबास नगरपालिका- ४ ढिकुरे स्थायी घर भएका अर्जुन र अस्मिता दुईजना नाबालक छोरीहरूसँगै सुन्दरहरैँचामा नातेदारको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए ।

दुईवटा सुमो जिप भएका श्रीमान् अर्जुनले एउटा भाडामा लगाएर एउटाचाहिँ आफैँले चलाउँदै आएका थिए । अर्जुन र अस्मिताले सुन्दरहरैँचामा जमिन खरिद गरेर आफ्नै घर बनाउन थालेका थिए । 

शुक्रबार नयाँ बनाउँदै गरेको घरमा पानी हाल्ने विषयमा श्रीमान् अर्जुन र श्रीमती अस्मिताबिच भनाभन भएको थियो । त्यसपछि साँझ आमा अस्मिता नाबालक छोरीहरू लिएर बेपत्ता भएकी थिइन् । मोरङका एसपी नवराज कार्कीले बेपत्ता आमाको खोजी कार्यलाई तीव्र पारिएको बताए । बालिकाहरूको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु