पलेशाको पुरस्कार रकममा सरकारले कर छुट दिने, प्रशिक्षक लामालाई राखेपमा नियुक्तिका लागि सिफारिश

छिनोफानो   शुक्रबार २१, भदौ २०८१ ०६:३३

काठमाण्डाै – सरकारले पेरिस पारा ओलम्पिक २०२४ मा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई वितरण गर्ने पुरस्कार रकममा कर छुट दिने निर्णय गरेको छ ।

हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले पलेशालाई दिइने ६५ लाख रुपैयाँ पुरस्कारमा कर छुटको निर्णय गरेको हो । पलेशालाई ६५ लाख, उनका प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

अस्ति बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशालाई सरकारले पुरस्कार राशिको कर कट्टा नगर्ने घोषणासमेत गर्नुभएको थियो ।

पेरिस पारा ओलम्पिक अन्तर्गत गएको भदौ १४ गते शुक्रवार सम्पन्न तेक्वान्दाेकाे के–४४ विधा अन्तर्गत महिला ५७ केजी तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिश गरेको छ । राखेपले लामाकाे नाम युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिश गरेको हो । विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई सफलताको कदरस्वरूप राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु