राजनीतिक परिवर्तनप्रति कर्मचारीको योगदान प्रशंसायोग्य: प्रधानमन्त्री

छिनोफानो   शनिबार २२, भदौ २०८१ ०७:१३

काठमाडौँ, भदौ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताउनुभएको छ ।

निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेसागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको बताउनुभयो । निजामती सेवाले कानुनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ ।

प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पुर्याएका आन्दोलनहरु सफल भएका र कर्मचारीका मागहरु क्रमशः पूरा हुँदै गएका उल्लेख गर्नुभएको छ । “आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौँ, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसका लागि आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती कर्मचारीमा उच्च नैतिक आचरण, इमान्दारिता र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको भन्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन तथा व्यापक हुुँदै गएको बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु