किस्ता पर्खाइमा विस्थापित परिवार

छिनोफानो   बिहिबार १८, पुष २०८१ ११:३३

बाजुराको हिमाली गाउँपालिका–४ र ५ का बाढीपहिरोबाट विस्थापित परिवार लामो समयदेखि तेस्रो किस्ता रकमको पर्खाइमा छन् । २०७७ सालमा आएको बाढीपहिरोले यहाँका झन्डै १२८ जना घरपरिवार विस्थापित भएका थिए । यी विस्थापित परिवारलाई सरकारले स्थापित गर्नका लागि २०७८ सालमा घरबास कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

त्यही कार्यक्रम अनुसार नेपाल प्राधिकरणले यहाँका १२८ परिवारलाई घर निर्माणका लागि सङ्घबाट ६०, प्रदेशबाट तिस र स्थानीय सरकारबाट १० प्रतिशत रकम दिने गरेर सम्झौता गरेको थियो । सोही अनुसार एक जना परिवारलाई झन्डै पाँच लाख रुपियाँ दिएपछि बाढीपहिरोबाट विस्थापितले २०७८ सालदेखि घर निर्माण गर्ने काम सुरु गरेका थिए । नेपाल प्राधिकरणले भने अनुसार पीडितहरू घर निर्माणको काम सम्पन्न गरे पनि अहिलेसम्म उनीहरूले त्यो रकम पाएका छैनन् ।

पहिलो किस्ता टहरा निर्माण भनेर ७५ हजार र त्यसपछि दुई लाख ५० हजार रुपियाँ उनीहरूले प्राप्त गरेका छन् । बाँकी तेस्रो किस्ता घर निर्माणको काम सम्पन्न गरिसकेपछि मात्र दिने भनेपछि उनीहरूले ऋण जोहो गरेर निर्माणको काम सम्पन्न गरेका थिए । हालसम्म तेस्रो किस्ताको रकम पाएका छैनन् । घर निर्माण गरेको दुइ वर्ष भयो, अहिलेसम्म तेस्रो किस्ता रकम नपाएको हिमाली गाउँपालिका–४, फैतीका रमेश विकले बताउनुभयो । उहाँले भन्नुभयो, “फैतीमा जम्मा २८ जना दलित परिवार छन् ।  ती सबै विस्थापित भएका छन् । २८ जनामा २१ जनाले पहिलो र दोस्रो किस्ता पाएका छन् तर यसैमा सात जनाले भने पहिलो किस्ता ७५ हजार मात्र रकम पाएका छन् ।”

घर बनाएर भित्र पसेको पनि झन्डै दुई वर्ष भयो तर तेस्रो किस्ता रकम भने अहिलेसम्म नपाएको विकले बताउनुभयो । यो अवस्था हिमाली–४ का २८ जना दलित परिवारको मात्र होइन । हिमाली–५ का सयौँ जना विस्थापित परिवारको पनि अवस्था उस्तै छ । यहाँका विस्थापित परिवारले पनि त्यसरी नै घर निर्माण गरेका छन् । गाउँमा ऋण सापट गरेर उनीहरूले घर निर्माणको काम सम्पन्न गरेर घरभित्र बसोबास गर्दै आएका भए पनि पाउनुपर्ने अन्तिम किस्ता रकम दिइएको छैन् । तेस्रो किस्ताका लागि उनीहरूले पटक पटक माग गर्दै आए पनि यस रकमका बारेमा केही सुनुवाइ नभएको हिमाली–५ का किउडीका वीरबहादुर बुढाले बताउनुभयो ।

हुन त यो व्यथा हिमालीका बासिन्दाको मात्र होइन बुढीगङ्गा, त्रिवेणी र गौमुलका बाढीपहिरोबाट विस्थापित परिवारको अवस्था पनि यस्तै छ । यहाँका बासिन्दाले पनि गाउँमा ऋण  सापट गरेर घर निर्माण गरेका छन् तर उनीहरूलाई दिने भनेको रकम उनीहरूले अहिलेसम्म दिइएको छैन । यहाँका बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारका लागि घरबास कार्यक्रम अन्तर्गत दिनुपर्ने रकम सङ्घले ६० प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत हो । आफूले उनीहरूलाई त्यो रकम पहिल्यै दिइसकेको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका स्थानीयले अन्तिम किस्ता रकम चाँडै आउँछ भनेर बजारमा साहुसँग घर निर्माण गर्दा आवश्यक पर्ने सबै सामान लिएर घर निर्माण गरेका हुन् तर अहिलेसम्म उनीहरूको त्यो रकम सङ्घ र प्रदेशले दिएको छैन ।” यसका लागि पटक पटक प्रमुख जिल्ला अधिकारी तथा सङ्घ र प्रदेशसँग धेरै पटक कुरा राख्दै आएको तर त्यहाँबाट त्यो रकम भने अहिलेसम्म नआएको अध्यक्ष मल्लले बताउनुभयो । बाढीपहिरो पीडितको कसैको दोस्रो र कसैको तेस्रो किस्ता रकमका लागि झन्डै १५ करोड रुपियाँ गृह मन्त्रालयमा माग गरेको तर त्यो रकम अहिलेसम्म नआएको उहाँले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु