प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदै

छिनोफानो   मङ्गलबार २३, कार्तिक २०७८ ०८:२७

 भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन् । प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो ।

भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन् । प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् । प्रधानसेनापति शर्मा सेनाको कासा जहाजबाट भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन् ।

नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा कार्तिक २४ गते हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा २०७७ कार्तिक २० गते नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान गरेकी थिइन् ।

नयाँदिल्ली पुगे लगत्तै भारतीय सैनिकको एक टुकडीले प्रधानसेनापति शर्माको सम्मानमा ‘सम्मान गारत’ दिनेछ । प्रधानसेनापति शर्माले मंगलबारै भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेसँग द्वीपक्षिय भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले भारतीय आर्म फोर्सका चिफ आफ डिफेन्स स्टाफ विपिन रावतसँग समेत भेट्ने छन् । भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय रक्षा सचिवसँग समेत द्धिपक्षिय हितका विषयमा छलफल गर्नेछन् । औपचारिक कार्यक्रम पूरा गरी प्रधानसेनापति शर्मा कार्तिक २६ गते शुक्रबार नेपाल फर्कने छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु